मकवानपुर, चैत्र १० । बागमती प्रदेशको राजधानी हेटौंडामा बागमती प्रदेश स्तरीय कृषि प्रदर्शनी २०८२ आयोजना हुने भएको छ । मंगलबार उद्योग वाणिज्य संघ मकवानपुरले पत्रकार सम्मेलन गर्दै यहि चैत्र १३ देखि १६ गतेसम्म बागमती प्रदेश स्तरीय कृषि प्रदर्शनी आयोजना गर्न लागेको जानकारी दिएको हो ।
मकवानपुर उद्योग वाणिज्य सङ्घको आयोजना, बागमती प्रदेश सरकारको सहयोग एवम् हेटौँडा उपमहानगरपालिकाको सहकार्यमा हेटौँडा–२ स्थित पल्पसा सभाहलमा कृषि प्रदर्शनी आयोजना गर्न लागिएको हो । आयोजक संघ अध्यक्ष प्रमोदसिंह रानाभाटले मङ्गलवार हेटौँडामा पत्रकार सम्मेलन आयोजना गर्दै मेलाको तयारी सुरु भइसकेको जानकारी दिनुभयो । उहाँका अनुसार मेलाको उद्घाटन बागमती प्रदेशका कृषि तथा पशुपंक्षी विकास मन्त्री मधुसूदन पौडेलले गर्नुहुनेछ ।
मकवानपुरसहित ६ जिल्लाका कृषक तथा उद्यमीहरुको उत्पादनलाई ४० वटा स्टल मार्फत प्रदर्शनी गरिने जनाईएको छ । प्रदर्शनीमा कोदो, जुनेलो, फापर, अचार, बाटेको धुप, केराको कप, म्याट, मस्यौरा, जुनारको जुस, अल्लोको समान, च्याउ, माछा, डेरी प्रडक्टलगायत बस्तुको प्रदर्शनी हुने जनाईएको छ ।
कृषि प्रदर्शनीबाट कृषि उपजको उत्पादन, विविधिकरण तथा बजारीकरण, कृषि औजार तथा व्यवसाियक ज्ञानको अभिकृद्धि, आपसी व्यापारको सहकार्यलगायत अपेक्षा सहित आयोजना गर्न लागिएको प्रदर्शनीमा करिब ५ लाख ७५ हजार १७८ रुपैयाँ खर्च अनुमान आयोजकले गरेको छ ।











