हेटौंडा । हेटौँडा–५ स्थित जेनिथ माध्यमिक विद्यालयको आयोजना शुक्रबार भएको अन्तर विद्यालय फुटबल प्रतियोगिताको उपाधी सोलिड्यारिटी इन्टरनेशनल विद्यालयले हात पारेको छ । हेटौँडा उपमहानगरपालिकाभित्रका १० वटा संस्थागत विद्यालयको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेलमा सत्यम जेभियर्स माध्यमिक विद्यालयलाई ३–१ गोल अन्तरले पराजित गर्दै सोलिड्यारिटी च्याम्पियन बनेको हो ।
प्रतियोगितामा हेटौंडा-२, स्थित ज्ञानोदय बालबाटिका माध्यमिक विद्यालय तेस्रो भयो । विजयी टिमहरूले क्रमश ५ हजार, ३ हजार र २ हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । यस्तै व्यक्तिगत विधातर्फ गौरभ चौधरी उत्कृष्ट गोलकिपर, सौगात देउला उत्कृष्ट खेलाडी तथा दिबस मुक्तान सर्वाधिक गोलकर्ता घोषित हुँदै पुरस्कृत भएका छन् ।
जेनिथ माध्यमिक विद्यालयले पढाइसँगै अतिरिक्त क्रियाकलापमा विद्यार्थीको सहभागिता बढाउने र नगरभित्रका विद्यालयबीच आपसी सम्बन्ध मजबुत बनाउने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिएको विद्यालयका प्रिन्सिपल श्रीबहादुर कार्कीले जानकारी दिनुभयो ।
प्रतियोगिता समापन तथा पुरस्कार वितरण कार्यक्रममा प्रिन्सिपल श्रीबहादुर कार्की, समाजसेवी सञ्जय सिलवाल, आइटी विभाग प्रमुख दुर्गा सिग्देल, प्राध्यापक विकास केसी, हेटौँडा सिटी कलेजका प्रशासक अधिकृत सुमान्त सिल्वाललगायतको उपस्थिति रहेको थियो ।











