आज आइतबार दिउँसो देशका तीन प्रदेश; कोशी, बागमती र गण्डकीमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षासहित हिमपातको समेत सम्भावना रहेको छ ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम हुने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । आज दिउँसो देशभर साधरणतया बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागका धेरै स्थानमा तथा बाँकी भूभागका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिम र मध्य नेपालमा सरदर स्थानभन्दा उत्तरतिर तथा पूर्वमा सरदर स्थानको आसपासमा रहेको महाशाखाले जनाएको छ ।
जसको प्रभावले हाल कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आइतबार राति देशभर साधारणतया बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षासहित हिमपातको सम्भावना रहेको छ ।











