मकवानपुर, २३ जेठ । प्रतिनिधिसभा अन्तर्गतकाे सार्वजनिक लेखा समितिको २३औं वार्षिक प्रतिवेदन पारित भएको छ । सभापति ऋषिकेश पोखरेलले समितिको आजको बैठकले प्रतिवेदन पारित गरेको र अब पाँच दिनभित्र समिति सचिवालयले भाषागत शुद्धाशुद्धि मिलाएपछि सदनमा पेश गरिने जानकारी दिनुभयो ।

बैठकले जगदुल्ला हाइड्रोपावर कम्पनीसँग जोडिएर केही निर्माता कम्पनीले नक्कली कागजात पेश गरी बोलपत्रमा समावेश भएको भनी आएका गुनासाका विषयमा प्रस्ट नभई सम्झौता अघि नबढाउन निर्देशन दिएको छ ।

यस्तै बेरुजु फर्छ्याेटका सम्बन्धमा तीन तहकै जनप्रतिनिधिको सहभागितामा असार ९ र १० गते काठमाण्डाैमा राष्ट्रिय कार्यशाला गोष्ठी गर्ने निर्णय गरेको छ । गोष्ठीमा सबै प्रदेशका सार्वजनिक लेखा समिति सभापति र सचिव, विज्ञ, महालेखा परीक्षकको, कार्यालय, नगरपालिका र गाउँपालिका महासङ्घका प्रतिनिधि सहभागी हुनुहुनेछ ।

सभापति पोखरलेले बेरुजु फर्छ्याेटमा पालिकादेखि सङ्घसम्मको समग्र अवस्थाबारे जानकारी लिँदै आउँदा दिनमा कसरी अघि बढ्ने भन्ने सन्दर्भमा राय सुझाव लिने उद्देश्यले गोष्ठी गर्न लागिएको जानकारी दिनुभयो । बैठकले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन समितिले थप अध्ययनका लागि स्थलगत अवलोकन गर्ने माग गरेकामा स्वीकृत प्रदान गरेको छ ।

यस वर्ष मौसम केही जटिल हुने प्रक्षेपण गरिएकाले पूर्वतयारी प्रतिकार्यलाई चुस्त र व्यवस्थित तुल्याउन सरकारलाई सुझाव दिँदै समितिले आउँदाे धान बालीका लागि किसानलाई रासायनिक मलको अभाव हुन नदिन उचित व्यवस्थानमा लाग्न निर्देश गरेको छ ।