सिन्धुली । सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिकालाई सेनिटरी प्याड डिस्पोजल मेसिन हस्तान्तरण गरिएको छ । ब्याक टु लाइफ इभि जर्मनी नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहयोगमा सामुदायिक पद्धति विकास सेवा (सिएसडिएस) सिन्धुलीले गाउँपालिकालाई १५ थान सेनिटरी प्याड डिस्पोजल मेसिन हस्तान्तरण गरेको हो ।

गाउँपालिकामा एक कार्यक्रमाका विच ब्याक टु लाइफका म्यानेजर अनुप पौडेलले गाउँपालिका अधयक्ष शंकरराज बराललाई आइतबार सेनिटरी डिस्पोजल मेसिन हस्तान्तरण गर्नुभयो । गाउँपालिका भित्रका सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई लक्षित गरी मेसिन उपलब्ध गराएको ब्याक टू लाईफका म्यानेजर पौडेलले जानकारी दिनुभयो ।
सो अबसरमा गाउँपालिका अध्यक्ष बरालले पालिकाले सेनिटरी प्याड वितरण गर्दै आए पनि प्रयोग पश्चात् व्यवस्थापनमा समस्या हुँदै आएकोले यस वर्षबाट प्राप्त सेनिटरी प्याड डिस्पोजल मेसिन आवश्यकता अनुसार विद्यालयहरुमा पठाउने बताउनुभयो । बिद्यालयमा अध्यनरत किशोरीहरूको स्वास्थ्य र पर्यावरण संरक्षणको दिशामा महत्वपूर्ण कदम भन्दै उहाँले यसले किशोरीहरूलाई स्वच्छता सामग्रीको उचित ब्यबस्थापन गर्न सजिलो हुने साथै  स्वास्थ्य सम्बन्धी समस्याहरू घटाउन मद्दत गर्ने बताउनुभयो ।

विद्यालयमा अध्ययनरत छात्राहरूलाई सेनिटरी प्रयोग पश्चात् व्यवस्थापनमा समस्या देखिएकोमा डिस्पोजल मेसिन प्राप्त पछि व्यवस्थापन गर्न सहज हुने गोलन्जोर गाउँपालिका शिक्षा शाखामा कार्यरत सुस्मा आचार्यले बताउनुभयो । यो मेसिनहरू स्थानीय विद्यालय राखिने छ । प्रयोग भइसकेका सेनिटरी प्याड मेसिनमा हालेपछि मेसिनले जलाएर खरानी बनाउने गर्छ । प्याड जथाभावी फाल्दा फोहोर हुने र शौचालयको प्यान नै टालिने समस्या हुने गरेकाले ब्याक टु लाइफबाट मेसिन सहयोग भएपछि सहज हुने आचार्यले जानकारी दिनुभयो ।