मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौँडाबाट संघीय राजधानी काठमाडौं जोड्ने एउटा बाटो सुचारु भएको छ । अविरल वर्षापछि आएको पहिरो खसेर अवरुद्ध बनेको त्रिभुवन राजपथ एकतर्फी सुचारु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
त्रिभुवन राजपथ सडक खण्ड अन्तर्गत हेटौंडा–चित्लाङ–चन्द्रागिरी–थानकोट सडक एकतर्फी सचारु भएको प्रहरीले जनाएको छ । उक्त सडक खण्डको पानीघाट क्षेत्रमा गएको पहिरो र हिलो पन्छाएपछि आईतबार साँझ ७ः३० बजेबाट यातायात आवागमन शुरु भएको जनाईएको छ । पहिरो पन्छाएको भएपनि ठाउँठाउँमा हिलो भएकोले सतर्क भएर यात्रा गर्न प्रहरीहरुले अनुरोध गरेको छ । पहिरोका कारण हेटौँडाबाट काठमाडौं जोड्ने कान्तिलोकपथ, कुलेखानी–फाखेल र कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडकखण्डहरू भने अझै अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।












