संसद् खुलाउने विषयमा आज बस्ने गरी तय भएको शीर्ष नेताहरूको बैठक भोलिसम्मका लागि स्थगित भएको छ । सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठन र संसद्को अवरोध खुलाउने विषयमा आज दिउँसो तीन दलका शीर्ष नेताहरू बसेर टुंग्याउने तयारी थियो । तर मंगलबार समय अभावका कारण शीर्ष नेताहरूको बैठक नबस्ने अवस्था बनेको एमाले प्रमुख सचेतक पदम गिरीले जानकारी दिनुभयाे ।
‘शीर्ष नेताहरूको बैठक बसेर उच्चस्तरीय छानविन आयोगको मस्यौदा तयार गर्ने र संसद्को अवरोध अन्त्य गर्ने भन्ने तयारी थियो । तर अहिले साढे चार बजे नवनियुक्त प्रधानन्यायधीशको शपथ ग्रहणको कार्यक्रम भएकाले शीर्ष नेताहरूको बैठक बस्ने समय पुगेन,’ उहाँले भन्नुभयाे, ‘अब बुधबार विहान ११ बजे त्यसबारे शीर्ष नेताहरूको बैठकमा छलफल गरेर टुंगोमा पुग्ने तयारी छ ।’
उच्चस्तरीय आयोग गठनको विषयमा दलहरूबीच सहमति नभएपछि अब प्रतिनिधिसभाको मंगलबारको बैठक पनि स्थगित हुने प्रमुख सचेतक गिरीले बताउनुभयाे । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले करिब एक महिनादेखि संसद् अवरुद्ध पार्दै आएको छ ।
त्यसबारे सोमबार रातिसम्म सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलहरूबीच छलफलपछि उच्चस्तरीय छानविन आयोग गठन गर्ने सहमति गरेका थिए । मंगलबार दिउँसो त्यसबारे सहमति पत्रमा हस्ताक्षरपछि संसद्को अवरोध अन्त्य हुने र बैठक सञ्चालन हुने अपेक्षा गरिएको थियो । सोमबारको सहमतिबमोजिम एमाले उपाध्यक्ष सुवास नेम्वाङ, कांग्रेस प्रमुख सचेतक रमेश लेखक र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले उच्चस्तरीय आयोगको मस्यौदासमेत तयार गरिसकेका छन् ।