मकवानपुर । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले सोमबार जिल्लाका ४४ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । मकवानपुर छात्रवृति वितरण कार्यक्रम अन्तरगत सोमबार एक कार्यक्रमको आयोजना गरी जिल्लाभित्रका आठ सामुदायिक क्याम्पसका स्नातक र स्नातकोत्तर तह अध्ययनरत ४४ विद्यार्थीलाई प्रतिविद्यार्थी ९ हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिएको हो ।

कार्यालयले गत जेठ १८ गते छात्रवृतिका लागि सूचना आव्हान गरेकोमा १३६ जनाले आवेदन दिएका थिए । निवेदन दिएका मध्ये छात्रवृत्ति वितरण कार्यविधिको छनौट मापदण्डका आधारमा छनौट भएका ४४ जनालाई आज छात्रवृति प्रदान गरिएको हो । छात्रवृति पाउनेमा मकवानपुर बहुमुखि क्याम्पसका ५ जना, हेटौंडा क्याम्पस र वंशगोपाल बहुमुखी क्याम्पसका का ४÷४ जना, पालुङ बहुमुखी क्याम्पस र निर्मल बहुमुखी क्याम्पसका ८÷८ जना, मनहरी बहुमुखी क्याम्पसका ७ जना र पदमपोखरी बहुमुखी क्याम्पसका एक जना छन् । उनिहरुले जनही ९ हजारका दरले छात्रवृति प्राप्त गरेका हुन् ।

जिसस मकवानपुरका उपप्रमुख सानुकाजी लुइटेलको सभाध्यक्षता एवम् जिसस मकवानपुरका प्रमुख ललित बहादुर घलानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा जिसस प्रमुख घलानले जिल्लाभित्रका सामुदायिक क्याम्पसमा अध्ययनरत आर्थिक समस्या भएका केही विद्यार्थीलाई समेटेर छात्रवृृत्ति वितरण गरिएको बताउनुभयो । उहाँले छात्रवृतिकार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो । यस्तै जिसस उपप्रमुख लुईटेलले छात्रवृति प्राप्त गर्ने विद्यार्थीले आफ्नो पढार्ईलाई निरन्तरता दिन सक्नुपर्ने बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय अधिकारी बासुदेव खतिवडा, शिक्षा विकास तथा समन्वय इकाई मकवानपुर प्रमुख दीनानाथ गौैतम, जिससका सदस्य विरेन्द्र लामा, सुवर्ण गोपाली, तारा ढुंगाना, सुमित्रा थिङ, सुनिता दर्नाल, विष्णुमाया थपलिया, जिससका शाखा अधिकृत सुनिता गजुरेललगायत क्याम्पसका प्रमुखहरुको उपस्थिति रहेको थियो ।