मकवानपुर – हेटौडामा जारी पाँचौं संस्करणको स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा वीरगञ्ज युनाइटेडले न्यूरोड टिम(एनआरटी) लाई पराजीत गरेको छ । हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा भएको खेलमा एनआरटीलाई ३–२ गोलअन्तरले पराजित गर्दै वीरगञ्जले अन्तिम आठमा स्थान पक्का गरेको हो ।
वीरगञ्जको जितमा विवेक चौधरीले खेलको २९ औं मिनेट र कृपा चौधरीले खेलको ५० औं र ७० औं मिनेटमा गोल गरेका थिए । त्यस्तै एनआरटीको तर्फबाट दिनेश आले खेलको २३ औं र ललिनुन जामाले खेलको ७८ औं एक÷एक गोल गरेका थिए । खेलको म्यान अफ दी म्याच वीरगञ्जका कृपा चौधरी घोषित हुँदै नगद दशहजार रुपैयाँ प्राप्त गरेका छन् । वीरगन्जले अब फागुन ३ गते क्वाटरफाइनलमा एभेनिर एफसीसँग खेल्नेछ ।
प्रतियोगिता अन्तर्गत मंगलबार (भोली) हिमालयन शेर्पा काठमाडौ र बागमती युवा क्लव सर्लाही बीच खेल हुने आयोजक जिल्ला फुटबल संघ मकवानपुरले जनाएको छ । गत माघ २८ गतेबाट सुरु भइ फागुन १० गतेसम्म संचालन हुने प्रतियोगिताको उपाधि विजेता टोलीले नगद १५ लाख र उपविजेता टोलीले १० लाख रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगितामा विद्यागत उत्कृष्ट खेलाडीले २५ हजार र म्यान आफ दि म्याच खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । भने, प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले रोयल इन्फिल्ड (बुलेट) मोटरसाइकल पाउने छन् ।
पहिलो संस्करणको उपाधि थ्रिस्टार क्लबले जितेको थियो । भने, २०७५ मा भएको दोस्रो संस्करणको उपाधि घरेलु टोली मकवानपुर–११ ले जितेको थियो । २०७७ मा भएको तेस्रो संस्करण र गत जेठमा सम्पन्न चौथो संस्करणको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले जितेको थियो ।












