माघ २०, हेटौंडा÷मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा हेटौंडा १० टिसिएन चौरमा जारी महोत्सवमा शुक्रबार दर्शकको घुइँचो लागेको छ । अन्य दिन भन्दा शुक्रबार दर्शकहरुको चाप बढेको हो ।
शुक्रबार करिब १०हजार भन्दाबढी दर्शकले महोत्सवको अवलोकन गरेका छन् । आज शनिबार हिजोको भन्दा बढी दर्शकहरुले महोत्सवको अवलोकन गर्ने अपेक्षा आयोजकले लिएको छ ।
महोत्सवको दशौं दिन शुक्रबार करिब ३० लाख बराबरको कारोबार भएको अनुमान आयोजकको रहेको छ । शनिबार पनि व्यवसायिक कारोबार वृद्धि हुने अपेक्षा रहेको आयोजक मकवानपुर उद्योग वाणिज्य संघले गरेको छ ।
शुक्रबार चर्चित व्याण्ड कर्मा व्याण्डको आफ्नो सांगीतिक प्रस्तुती दिएका थिए । व्याण्डले हुक्का मेरो…, कोहौ तिमी…, कहाँ होला घरबार…, मार्यौ ज्यूदैं मार्यौ…, यानी माया यानी माया…, कारबाही छाता ओढेर…, मनको घण्टी लगायत थुप्रै गीतहरु प्रस्तुत गरेका थिए । व्याण्डको प्रस्तुतीमा हेटौंडेली दर्शकहरु गीतसँगै रमाउँदै गाउँदै गरेका थिए ।
त्यस्तै महोत्सवमा गायक मानसराज र गायिका ऋतु कंडेलले पनि सांगीतिक प्रस्तुती दिएकी थिइन् ।
आज शनिबार गायक प्रताप दास, निशान भट्टराई र बालगायक जेनिश उप्रेतीले आफ्नो प्रस्तुती रहने बताइएको छ । महोत्सवमा हेटौंडा आइडलगायन प्रतियोगितार हेटौंडा डान्सिङ स्टार प्रतियोगिता पनि भइरहेको छ । हेटौंडा आइडल र हेटौंडा डान्सिङ स्टारमा मकवानपुरका विभिन्न नवप्रतिभाहरुले प्रतिस्पर्धा गरिरहेका छन् । हेटौंडा आइडलको आफ्ना मन पर्ने प्रतिस्पर्धीलाई एसएमएस र टिकटको अर्थकट्टीबाट भोट हाल्न सकिने व्यवस्था गरिएको आयोजक जनाएको छ ।
महोत्सवलाई शिवम सिमेन्टले प्रायोजन गरेको छ भने सह—प्रायोजकमा युनिलिभर नेपाल लिमिटेड, नेपाल ब्रुअरिज र लक्ष्मीग्रुप (हुण्डाई) रहेको छ । मेला सम्पन्न गर्न जिल्ला समन्वय समिति मकवानपुर र हेटौंडा उपमहानगरपालिका प्रवद्र्धकको रुपमा रहेका छन् भने महोत्सवको सह—आयोजकमा बागमती प्रदेश सरकारको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय र कृषितथा पशुपन्छी विकास मन्त्रालय रहेको छ ।
महोत्सवको टिकट प्रायोजकमा शौर्य सिमेन्ट, रिद्धिसिद्धी सिमेन्ट रहेको छ । महोत्सवको आधिकारिक विमा कम्पनीको रुपमा एनएलजी विमा कम्पनी रहनुका साथै लोगो प्रायोजकमा राष्ट्रिय वाणिज्य बैंक र नेपाल ईकरातरहेको छ ।
१० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा हेटौंडा आइडल डान्सिङ स्टार,जुम्लाको मार्सी चामल, केराको परिकार, मकवानपुरगढीको रैथाने बाली कोदोको पिठोबाट कोदोको विष्कुट,निमकिन,पोखराको खुवा, नेपाल टेलिकमको फ्री सिमकार्ड,हिमाली भीर मौरीको मह, भोजपुरे खुकुरी, प्राचिन हस्तकलाको झ्याल, ढोका, पुस्तक प्रदर्शनी, आइस गोला र मकवानपुरे आइसक्रिम, ल्यापटप एवम् मोवाइलको फ्रि सर्भिससिङ, मोडुलर किचेन, टाटा, सिजीका विभिन्न किसिमका इलेक्ट्रिक गाडीहरु, बालबालिकाको लागि फनपार्क, स्थानीय एवम् राष्ट्रिय कलाकारहरुको दैनिक प्रस्तुती, हेटौंडा र अन्य अस्पतालका डाक्टरहरुबाट निःशुल्क स्वास्थ्यशिविर,क्यारियर काउन्सिलिङ र दैनिकउपभोग्य वस्तुहरुसमेत विक्री वितरण भइरहेको छ ।
११ गते सुरु भएको महोत्सव माघ २३ गतेसम्म सञ्चालनहुनेछ । महोत्सवमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन भइरहेको छ । शुक्रबार हेटौंडा उपमहानगरपालिकाको हेटौंडा मेडिसिन सेन्टरका विशेषज्ञहरुबाट स्वास्थ्य परिक्षण गरिएको छ । शनिबार दाँतको उपचार र हेटौंडा अस्पतालका विशेषज्ञहरुद्धारा स्वास्थ्य परिक्षण गरिने जनाइएको छ ।











