काठमाण्डाै – नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज साेमवार भएको एक समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो ।

शपथ ग्रहण समारोहमा, उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको उपस्थिति थियो । त्यस्तै, समारोहमा पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलगायतको उपस्थिति थियो । त्यसैगरी, समारोहमा संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, विभिन्न राजनीतिक दलका नेता, यहाँस्थित कूटनीतिक निकायका प्रमुख तथा प्रतिनिधि, सञ्चारकर्मीलगायतको उपस्थिति थियो ।