नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको जीवनस्तर उकास्नका लागि काम अघि बढाउने बताउनुभएको छ । झापाको गौरीगञ्जमा आज आयोजित चुनावीसभामा उहाँले नागरिकको जीवनस्तर उठाउनका लागि एमालेकै नेतृत्वमा सरकार आवश्यक रहेको बताउनुभयो । अध्यक्ष ओलीले एमालेले महिलालाई महिनावारी हुँदा मासिक रूपमा एक हजार पाँच सय सेनिटरी प्याड किन्न दिने बताउनुभयो । ‘त्यसका लागि एमालेकै सरकार बन्नुपर्छ’, अध्यक्ष ओलीले भन्नुभयो, ‘एमालेको सरकार बनेपछि महिलाले त्यो समस्या भोग्नुपर्ने छैन ।’
पूर्वप्रधानमन्त्री ओलीले एमालेको नेतृत्वको सरकार हुँदा हुलाकी मार्ग निर्माण सुरु भएको बताउनुभयो । उहाँले नागरिकताको समस्या, सुकुम्बासी समस्या अब समाधान गरिने बताउनुभयो । ‘जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिकता प्रदान गरिनेछ”, उहाँले भन्नुभयो, ‘हामीले गैरनेपालीलाई नागरिकता नदिने भनेका हौँ ।’ अध्यक्ष ओलीले गौरीगञ्जलाई स्मार्टसिटीका रूपमा विकास गरिने बताउनुभयो । उहाँले हुलाकी राजमार्ग बनिसकेपछि गौरीगञ्जको विकास हुने बताउनुभयो । यस्तै ओलीले नदी नियन्त्रणका लागि काम भइरहेको बताउनुभयो । अध्यक्ष ओली झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुनुहुन्छ । गौरीगञ्जमा उहाँको अन्तिम चुनावीसभा हो ।
यसअघि झापा क्षेत्र नं १ मा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले मङ्सिर ४ गतेको निर्वाचनले देशको भाग्य र भविष्य निर्माण गर्ने हुँदा मतदातालाई संयमित बनेर देश जोगाउने शक्तिलाई मतदान गर्न आग्रह गर्नुभयो । निर्वाचनबाट देश जोगाउने शक्ति आउनुपर्ने भन्दै उहाँले भन्नुभयो, ‘यसले जनताको भाग्य र भविष्यको फैसला गर्नेहुँदा बेलैमा होस पुर्याउनुस् ।’ अध्यक्ष ओलीले एमाले एक थोक भन्ने र अर्को थोक गर्ने पार्टी नभएको जिकिर गर्दै अहिले आम मतदातालाई जे गर्छौं भनेको छ चुनावपछि त्यही गर्ने आश्वासन दिनुभयो ।











