पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि बनेको संसदीय छानबिन समितिले आगामी शुक्रबार प्रतिवेदन बुझाउने तयारी गरेको छ । सिंहदरबारमा आज (बुधबार) बसेको समिति बैठकले प्रतिवेदन लेखनका बारेमा छलफल गरेको र भोलि (बिहीबार) प्रतिवेदनलाई अन्तिम रूप दिएर शुक्रबार बुझाउने तयारी गरेको समितिका सचिव सुरेन्द्र अर्यालले बताउनुभयाे । उहाँले औपचारिक र अनौपचारिक रूपमा समितिले छानबिनका विषयमा छलफल गरेर समान धारणा बनाउने बताउनुभयाे । छलफलका क्रममा आएका फरक मतमासमेत सहमति खोजिने उहाँको भनाइ छ । सचिव अर्यालले बिहीबार साढे १२ बजे फेरि बैठक बस्ने जानकारी दिनुभएकाे छ ।











