मकवानपुर – मकवानपुर जिल्लाको आठौं जिल्ला सभा आगामी साउन २५ गते आयोजना हुने भएको छ । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको आईतबार बसेको ८९औं बोर्ड बैठकले आठौं जिल्लासभा आगामी साउन २५ गते आयोजना गर्ने निर्णय गरेको हो ।

जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख ललित बहादुर घलानको अध्यक्षतामा बसेको बैठकले आगामी साउन २५ गते जिल्ला सभा आयोजना गर्ने निर्णय गरेको हो । बैठकले साउन २५ गते आयोजना हुने जिल्ला सभाको तयारी गर्न कार्यालयलाई जिम्मेवारी दिने निर्णय गरेको प्रमुख घलानले बताउनुभयो । जिससको वार्षिक कार्यक्रम अन्तर्गत जिल्ला सभा आयोजना गर्न लागिएको प्रमुख घलानले बताउनुभयो ।

नेपालको संविधान २०७२ को धारा २२० को उपधारा (७) मा उल्लेखित काम कर्तव्य र अधिकार अनुसार जिल्ला सभा गर्ने प्रवधान रहेको र सोहि अनुसार जिल्ला सभा आयोजना गर्न लागिएको उहाँले जानकारी दिनुभयो । जिल्ला सभामा जिल्ला समन्वय समिति मकवानपुरको नीति कार्यक्रम तथा जिससको चालु आर्थिक वर्षको बजेट पारित गरिने उहाँले बताउनुभयो ।

त्यस्तै बैठकले जिल्ला समन्वय समितिका सदस्यहरुको कार्यक्षेत्र बाँडफाँड समेत गरेको छ । स्थानीय तहहरुसंग समन्वय र सहजिकरणका लागि सदस्यहरुको कार्यक्षेत्र बाँडफाँड गरेको प्रमुख घलानले बताउनुभयो । बैठकले जिसस सदस्य खड्क बहादुर पुलामीलाई बागमती र बकैया गाउँपालिका, सुवर्ण गोपालीलाई थाहा नगरपालिका र ईन्द्रसरोवर गाउँपालिका, तारा ढुंगानालाई हेटौंडा उपमहानगरपालिका, विरेन्द्र कुमार लामालाई राक्सिराङ गाउँपालिका, विष्णुमाया थपलियालाई मकवानपुरगढी गाउँपालिका, सुनिता (दर्नाल) परियारलाई मनहरी गाउँपालिका, सुमित्रा थिङलाई भीमफेदी र कैलाश गाउँपालिकाको जिम्मेवारी दिईएको प्रमुख घलानले बताउनुभयो ।

त्यस्तै बैठकले मकवानपुरका स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको नाम, पद र सम्पर्क नम्बरसहितको स्थानीय सम्पर्क डायरी प्रकाशन गर्ने निर्णय गरेको प्रमुख घलानले जानकारी दिनुभयो । बैठकमा उपप्रमुख सानुकाजी लुईटेल, सदस्यहरु खड्क बहादुर पुलामी, तारा ढुंगाना, विरेन्द्र कुमार लामा, विष्णु मायाथपलिया, सुनिता (दर्नाल) परियार, सुमित्राथिङ, निमित्त जिल्ला समन्व्य अधिकारी सुनिताकुमारी गजुरेल, नासु उपेन्द्रनाथ पोखरेल, लेखापाल दिपिका खनाल, खरिदार अमृता खनाललगायतको उपस्थिती थियो ।











