काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले नेपाल नागरिकता पहिलो संशोधन विधेयक, २०७९ माथि दफावार छलफल भइरहेको छ । विधेयकमाथिको दफावार छलफलमा भाग लिँदै सांसदहरू मीन विश्वकर्मा, गजेन्द्र महत, रामबाबु कुमार यादव लगायतले प्रस्तुत विधेयकले नागरिकता विहीन ७ लाख भन्दा बढी नेपाली नागरिक लाभान्वित हुने बताउनुभयो ।
सांसदहरू पुष्पाकुमारी कर्ण कायस्थ, पार्वती विशंखे, चाँदतारा कुमारी, कलिला खातुन, नबिना लामा, शान्ता चौधरी लगायतले नेपाली आमाबाट जन्मेका सबै नेपालीले आमाको नामबाटै वंशजको नागरिकता पाउने व्यवस्था गर्नुपर्ने बताउनुभयो । सांसदहरू मिनेन्द्र रिजाल, देव गुरुङ, गगनकुमार थापा लगायतले नागरिकताका सम्बन्धमा नेपालको संविधानले गरेको व्यवस्थालाई सम्बोधन गर्ने गरी विधेयक आएको बताउनुभयो ।
यस्तै विधेयकको पक्षमा बोल्नुहुने सांसदहरूले प्रस्तुत विधेयकले गैह्र आवासीय नेपालीहरूले विदेशमा आर्जन गरेको ज्ञान, सीप र अनुभव नेपालको आर्थिक विकासमा लगाउने बाटो खोल्ने बताउनुभयो । यसअघि विधेयकमाथि संशोधन प्रस्ताव राख्नुहुने सांसदहरुले वैवाहिक अङ्गीकृत नागरिकता प्राप्त गर्न नेपालमा कम्तीमा सात बर्ष स्थायी बसोबास गरेको हुनुपर्ने व्यवस्था राखिनुपर्ने माग गर्नुभयो । विधेयकमाथिको छुट्टाछुट्टै संशोधन प्रस्ताव राख्दै सांसद खगराज अधिकारी, विद्या भट्टराई, यज्ञ बहादुर बोगटी, लगायतले वैवाहिक अङ्गीकृत नागरिकता प्राप्त गर्न सात स्थायी बसोबास गरेको हुनुपर्ने व्यवस्था राखिनुपर्ने बताउनुभयो ।
यस्तै सांसद भीमबहादुर रावलले यसअघि नागरिकता विधेयकमा राज्य व्यवस्था समितिले दिएको प्रतिवेदनलाई हटाएर छलछाम पूर्ण रुपमा विधेयक ल्याइएको भन्दै वैवाहिक अङ्गीकृत नागरिकता प्राप्त गर्न निश्चित अवधि स्थायी बसोबास गर्नुपर्ने व्यवस्था गरिनुपर्ने बताउनुभयो । संशोधनकर्ता अर्का सांसद कृष्ण प्रसाद दाहालले २०७२ असोज ३ गतेअघि जन्मका आधारमा नागरिकता प्राप्त गरेका एउटै बाबुआमाका सन्तानले दाजु दिदीले सरह नागरिकता पाउनुपर्ने व्यवस्था राखिनुपर्ने बताउनुभयो । उहाँले बेलायतमा कार्यरत गोर्खा सेनाका हकमा दुवै देशको नागरिकता प्राप्त गर्ने सुविधा राखिनुपर्ने बताउनुभयो ।
विधेयकमा संशोधन राख्दै सांसद धनश्याम खतिवडा र झपड बहादुर रावलले विधेयकभित्र ल्याइएको दफाहरू संविधान प्रतिकुल रहेको ध्यानाकर्षण गराउँदै अङ्गीकृत नागरिकता विवाह गरेर स्थायी बसोबास गरेको ७ वर्षपछि मात्र पाउने व्यवस्था राखिनुपर्ने बताउनुभयो । उहाँले बाबुको प्रबन्ध नभएका सन्तानले नागरिकता प्राप्त गर्ने व्यवस्था जटिल भएकाले सहज बनाउनुपर्ने बताउनुभयो ।
विधेयकमाथि संशोधन राख्दै सांसद बिन्दा पाण्डे, विमला विक, विना कुमारी श्रेष्ठ र सुजता शाक्यले लैङ्गिक विभेदसम्बन्धी प्रावधान हटाउँदै आमाका नाम वा बाबुका नामबाट सन्तानले प्राप्त गर्ने नागरिकता पहिचानसहितको हुने व्यवस्था गरिनुपर्ने बताउनुभयो । उहाँहरूले वैवाहिक अङ्गीकृत नागरिकता पाउन कुनै अवधि वा सीमाविहीन बनाउन नहुने बताउनुभयो ।
संशोधनकर्ता सांसद शेरबहादुर तामाङ र यज्ञराज सुनुवारले ब्रिटिस गोर्खा र उनका सन्तानले नेपालको वंशजको नागरिकता पाउने र बाबुको ठेगान नलागेका सन्तानलाई आमाका नामबाट नागरिकता पाउने व्यवस्थालाई सहज बनाउनुपर्ने बताउनुभयो । उहाँहरूले वैवाहिक अङ्गीकृत नागरिकता प्राप्त गर्न निश्चित अवधि स्थायी बसोबास गर्नुपर्ने व्यवस्था गरिनुपर्ने बताउनुभयो ।
संशोधनकर्ता सांसद सूर्य प्रसाद पाठकले गैर आवासीय नागरिकता प्राप्त गर्न गृह मन्त्रालयमा नै जानुपर्ने नभई सम्बन्धित जिल्लाबाट नै पाउने व्यवस्था राखिनुपर्ने बताउनुभयो । नागरिकता विधेयक माथिको दफावार छलफलमा संशोधन राख्दै संशोधनकर्ता सांसद दुर्गा पौडेलले जन्मका आधारमा वंशजको नागरिकता दिन नहुने भन्दै यस्तो व्यवस्थाले नेपाली नै अल्पमतमा पर्ने व्यवस्था राष्ट्रघाती हुने बताउनुभयो ।
विधेयकमा संशोधन राख्दै सांसद प्रेम सुवालले आमा र बाबु दुवै वंशजको नेपाली नागरिकका छोराछोरीलाई वंशजको नागरिकता दिनुपर्ने र नेपालीसँग विवाह गरेका पुरुष र महिलालाई बीस वर्षपछि नेपालको कृत्रिम नागरिकता दिनुपर्ने धारणा राख्नुभयो । यसअघि, बैठक सुरु हुनासाथ समय माग गर्दै सांसद मिनेन्द्र प्रसाद रिजालले नेपालको पहिलो संसद्को नेता भएको स्मरण गराउँदै जनतालाई केन्द्रबिन्दुमा राखेर जनतालाई सार्वभौम बनाउने नेताको रुपमा रहेको स्मरण गराउनुभयो । उहाँले आज विपी स्मृति दिवसको स्मरण गराउँदै संसद्को पहिलो नेतासमेत भएकाले संसद्ले उहाँको स्मरण गर्नुपर्ने धारणा राख्नुभयो ।











