मकवानपुर – जननेता स्व. मदन भण्डारीको ७१ औँ जन्म जयन्तीको अवसरमा हेटौंडा–९, स्थित दिव्य बाल उद्यानमा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको छ । मदन भण्डारी फाउण्डेसन मकवानपुरको आयोजनामा मंगलबार बिहान वृक्षारोपण गरिएको हो ।

मदन भण्डारी फाउण्डेशन मकवानपुरका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षता तथा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री एवम् फाउण्डेशनका केन्द्रीय सदस्य डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बागमती प्रदेशका एमालेका प्रमुख सचेतक दिपक निरौला, नेकपा एमालेका केन्द्रीय सदस्य तथा बागमती प्रदेशसभाका सदस्य जुनेली श्रेष्ठ, नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठलगायतका पार्टीका नेता कार्यकर्ता एवम् फाउण्डेसनका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

बाल उद्यानमा विभिन्न जातका रुख र फूलका बिरुवा रोपिएको छ । भण्डारीको ७१ औ जन्म जयन्तीको अवसरमा पार्कमा बिरुवा रोप्ने र हरियाली बनाउन कार्यक्रम आयोजना गरिएको फाउण्डेसनका अध्यक्ष खुलालले जानकारी दिनुभयो ।














