सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि एक खर्ब ६१ अर्ब ५६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले भौतिक पूर्वाधार मन्त्रालयका लागि एक खर्ब ६१ अर्ब, ५६ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिनुभयो । सरकारले आउँदाे आर्थिक वर्षभित्र थप आठ सय किलोमिटर सडक सञ्जाल विस्तार गर्ने जनाएको छ । अर्थमन्त्री शर्माले थप दुई सय ५७ किलोमिटर सडक स्तराेन्नति हुने बताउनुभयाे ।
यस्तै पूर्व–पश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्ने कार्यलाई तीव्रता दिइने जनाइएको छ । आउँदो वर्ष नारायणगढ–बुटवल सडक खण्ड विस्तार कार्य सम्पन्न गर्नुका साथै कमला, कञ्चनपुर, ढल्केबर, पथलैया, हेटौँडा, नारायणगढ, बुटवल, लौकही सडक खण्ड निर्माण सुरु गर्ने जनाइएको छ । पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि सरकारले ३० अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । काठमाण्डौ–तराई–मधेस द्रुत मार्ग निर्माण कार्य तीन वर्षभित्र सम्पन्न गर्ने र त्यसका लागि ३० अर्ब सात करोड रुपैयाँ बजेट छुट्याइएकाे छ । मध्यपहाडका २६ जिल्लालाई सडक सञ्जालमा आबद्ध गर्न निर्माणाधीन पुष्पलाल मध्यपहाडी राजमार्गको दुई सय ३५ किलोमिटर सडक कालोपत्र गर्न र १६ वटा पुल निर्माणका लागि नाै अर्ब ३३ करोड रुपैयाँ सरकारले छुट्याएको छ ।
आउँदाे आर्थिक वर्षभित्र निर्माणाधीन हुलाकी राजमार्गको तीन सय किलोमिटर कालोपत्र र २४ वटा पुलको निर्माण कार्य सम्पन्न गर्नुका साथै थप ६७ वटा पुल निर्माण कार्य सुरु गर्ने पनि बजेटमा उल्लेख छ । हुलाकी राजमार्गका लागि ६ अर्ब ७ करोड रुपैयाँ विनियोजन गरिएको छ । मदन भण्डारी राजमार्गका लागि दुई अर्ब ९१ करोड रुपैयाँ विनियोजन गरिएकाे छ । रणनीतिक सडकका रूपमा रहेका नागढुङ्गा–नौबिसे–मुग्लिन खण्ड र मुग्लिन–पोखरा सडक स्तराेन्नति र विस्तारका लागि १० अर्ब ७४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
यस्तै कालीगण्डकी करिडोर, कर्णाली करिडोर र कोसी करिडोरका लागि चार अर्ब ६९ करोड रुपैयाँ विनियोजन गरिएको छ । हुम्लाको सदरमुकामलाई राष्ट्रिय सडक सञ्जालमा जोड्नका लागि आवश्यक बजेट विनियोजन गरिएको छ । प्रमुख व्यापारिक नाकाहरूलाई पूर्व–पश्चिम राजमार्गसँग जोड्ने रानी, विराटनगर, वीरगञ्ज पथलैया, बेलिया बुटवल, लगायतका सडकको विस्तार तथा स्तराेन्नति आउँदाे आर्थिक वर्षभित्र गरिने उल्लेख छ । क्षेत्रीय व्यापारिक मार्ग विस्तार आयोजनाका लागि ६ अर्ब ८४ करोड रुपैयाँ विनियोजन भएको छ । दोधारा–चाँदनी जोड्ने महाकाली नदीमा चार लेनको मोटरेबल पुलको निर्माण सम्पन्न गर्न ४१ करोड रुपैयाँ विनियोजन गरिएको छ ।











