हेटौंडा – नेकपा (एमाले) का तर्फबाट हेटौंडा उपमहानगरपालिकाका मेयरका उमेदवार अनन्त पौडेलले जनताकै बिचमा रहेर काम गरेको र जनताको दुख सुख बुझेको एमालेलाई नै भोट दिन आग्रह गर्नुभएको छ । हेटौंडाको ६ र ७ नम्बर वडामा भएको चुनावी सभामा बोल्दै नेता पौडेलले चुनाव हारेपछी १० वर्ष काठमाडौ बसेर गाला चिल्लो बनाएर पैसाको रवाफ देखाउँदै फेरि चुनावको बेला मात्र जनताको अगाडि देखापर्ने शाही घरानाका ब्यक्तिहरुले जनताको दुख बुझ्न नसक्ने बताउनुभयो । पौडेलले जनताकै बिचमा रहेर काम गरेको र जनताको दुख सुख बुझेको एमालेलाई नै भोट दिनुपर्ने बताउनुभयो ।

एमालेका बिरोधीहरुले हेटौंडाबासीको स्वाभिमान एउटा सारी, ४ चोक्टा मासुमा, १/२ हजार रुपैयाँमा किन्न खोजेरहेको बताउनुहुँदै उहाँले हेटौंडाबासी जनताको स्वाभिमान यति सस्तो नभएको र कसैले किन्न नसक्ने बताउनुभएको छ । एमालेले लगाएको बाली एकदमै सप्रीएको र बैशाख ३० गते बाली भित्राउने दिन भएको बताउनुहुँदै उहाँले अब केही दिन हामीले मिहिनेत गरेर हाम्रो बालीमा सलह जस्ता किरा पस्न दिन नहुने तर्क प्रस्तुत गर्नुभयो । नेकपा एमालेको तर्फबाट हेटौंडा उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार अनन्त पौडेलले नगरका टाढाबाट क्याम्पस पढ्न आउने विद्यार्थीहरुको लागि बसको ब्यवस्था गर्ने घोषणा गर्नुभएको छ । उहाँले एमालेले हेटौंडाको मेयर जितेपछि विद्यार्थीहरुलाई क्याम्पस पढ्न जान सहजता प्रदान गर्ने उद्देश्यले सवारी साधनको ब्यवस्था हुने बताउनुभएको हो । “बिद्यार्थीहरु बिहान क्याम्पस जाने बेलामा गाडि नपाएर अटोमा महंगो भाडा तिरेर पढ्न जानुपर्ने बाध्यता छ । हामीले जितेपछि विद्यार्थीहरुको लागि बसको ब्यवस्थापन गर्नेछौं ।” मेयर उम्मेदवार पौडेलले भन्नुभयो । एमालेहरु काममा बिश्वास गर्ने भएकाले आजका दिनमा युवा विद्यार्थी देखि वृद्ध बुवाआमाको मनपर्ने पार्टी एमाले भएको उहाँले बताउनुभयो । बिगतमा ३ पटक एमालेले हेटौंडाको नेतृत्व गरिरहँदा आज बिरोधीहरुले हेटौंडामा एमालेको बिरोध गर्ने ठाउँ नपाएको पनि उहाँको भनाई छ ।











