मकवानपुर – आगामी बैषाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मकवानपुर जिल्लाका विभिन्न स्थानीय तहमा उम्मेदवारी दर्ता गराएकामध्ये १३५ जनाले उम्मेदवारी फिर्ता गरेका छन् । जिल्लाका १० स्थानीय तहमा कुल दुई हजार ६७ जनाले उम्मेदवारी दिएका मध्ये शुक्रबार १३५ जनाले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उम्मेदवारी फिर्ता भएपछि जिल्लामा प्रमुख, उप्रमुख र सदस्यमा गरि कुल १ हजार ९ सय ३२ जनाको उम्मेदवारी कायम भएको छ । उम्मेदवारी फिर्ता गर्नेमा हेटौंडा उपमहानगरपालिकामा मेयरमा ३ जना, उपमेयरमा २ जनासहित ४९ जना रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ४९ जनाले उम्मेदवारी फिर्ता लिएसँगै हेटौंडा उपमहानगरपालिकामा ३ सय ८८ जनाको उम्मेदवारी कायम भएको छ ।
त्यस्तै थाहा नगरपालिकामा वडा अध्यक्ष र वडा सदस्य गरी १५ जनाले उम्मेदवारी फिर्ता लिएसँगै २ सय ४० जनाको उम्मेदवारी कायम भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यता बकैया गाउँपालिकामा अध्यक्षका उम्मेदवार २ जनासहित १८ जनाले उम्मेदवारी फिर्ता लिएसँगै २ सय ३४ जनाको उम्मेदवारी कायम भएको छ । ईन्द्रसरोवर गाउँपालिकामा अध्यक्षका आकांक्षी २ जना, वडा अध्यक्षका आकांक्षी ४ जना र वडा सदस्यका आकांक्षी २ जनासहित ८ जनाको उम्मेदवारी फिर्ता भएर ८९ जनाको उम्मेदवारी कायम रहेको छ ।
त्यस्तै बागमती गाउँपालिकामा ५ जनाको उम्मेदवारी फिर्ता भएर १ सय ६७ जनाको उम्मेदवारी कायम छ । भने, भीमफेदी गाउँपालिकामा एकजनाको उम्मेदवारी फिर्ता भएर १ सय ३५ जनाको, मकवानपुरगढी गाउँपालिकामामा ११ जनाको उम्मेदवारी फिर्ता भएर १ सय ३४ जनाको उम्मेदवारी कायम भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यस्तै जिल्लाको बिकट राक्सिराङ गाउँपालिकामा अध्यक्षका आकांक्षी १ जनासहित २१ जनाले उम्मेदवारी फिर्ता लिँदा १ सय ५१ जनाको उम्मेदवारी कायम छ । भने, कैलाश गाउँपालिकामा ३ जनाको उम्मेदवारी फिर्ता हुँदा १ सय ७३ जनाको उम्मेदवार काय रहेको छ । यस्तै मनहरी गाउँपालिकामा अध्यक्षका आकांक्षी २ जना, उपाध्यक्षका आकांक्षी १ जना र वडा अध्यक्षका आकांक्षी १ जनाको उम्मेदवारी फिर्ता भएर २ सय २१ जनाको उम्मेदवारी कायमै रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मकवानपुर जिल्लामा कुल दूईलाख ९४ हजार ९१९ जना मतदाता रहेका छन् । जसमध्ये एक लाख ४९ हजार ९५४ जना पूरुष, एक लाख ४४ हजार ९५४ महिला तथा ६ जना अन्य रहेको निर्वाचन कार्यालयले जनाएको छ ।











