मकवानपुर – बागमती प्रदेश खेलकुद विकास परिषदको आयोजनामा जारी प्रथम प्रदेश स्तरीय खेलकुद प्रतियोगिताको पुरुष फुटबल तर्फ ललितपुरले विजयी सुरुवात गरेको छ । हेटौंडामा आज भएको खेलमा चितवनलाई शुन्यका बिरुद्ध एक गोल गर्दै ललितपुरले विजयी सुरुवात गरेको हो ।
पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको ६८ मिनेटमा ललितपुरका बसन्त तामाङले गरेको गालेनै निर्णायक बन्यो । पतियोगिता अन्तरगत सोमबार दुईवटा खेल हुनेछन् । सोमबार पहिलो खेल रामेछाप र सिन्धुपाल्चोक तथा दोस्रो खेल मकवानपुर र नुवाकोटबीच हुने फुटबल खेल संयोजक कल्पना शर्माले बताउनुभयो ।

त्यस्तै आजै हेटौंडामा भएको ब्याटमिन्टन प्रतियोगितामा चितवन, सिन्धुली, रसुवा, काभ्रेपलान्चोक, ललितपुर, रामेछाप, धादिङ र नुवाकोट जिल्ला क्वाटरफाइनलमा प्रवेश गरेका छन् । आज ३० वटा खेल खेलाइएको थियो । सबै खेलहरुमा सोझो सेटले विजयी भएको अफिसियल राम विनय श्रेष्ठले बताउनुभयो । ब्याटमिन्टन प्रतियोगितामा चितवनले काठमाडौंलाई, काभ्रेले मकवानपुरलाई, ललितपुरले सिन्धुपाल्चोकलाई, रामेछापले दोलखालाई र धादिङले भक्तपुरलाई पराजित गरेको श्रेष्ठले बताउनुभयो । खेल एकल तथा डबल खेलाडीबीच खेलाइएको थियो । महिला तर्फभने चितवन, धादिङ, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, नुवाकोट, मकवानपुर र दोलखा जिल्ला क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार बिहानबाट क्वाटरफाइनलका खेल खेलाइने जनाइएको छ ।
प्रतियोगिता अन्तरगत मकवानपुरमा आइतबारबाट फुटबल र व्याडम्निटन खेल सुरु भएको छ भने चैत्र ५ गतेबाट तेक्वान्दो प्रतियोगिता सुरु हुनेछ । त्यस्तै, चितवनमा सोमबारबाट भलिबल र क्रिकेट खेल खेलाइने परिषद्का सदस्य सचिव सुर्यलाल भण्डारीले बताउनुभयो । त्यस्तै, सिन्धुपाल्चोकमा चैत्र ७ गतेबाट कराँते खेल हुनेछ भने काठमाडौंमा चैत्र ६ गतेदेखि एथलेटिक्स प्रतियोगिता हुने छ । त्यस्तै, काभ्रेमा भने चैत्र ७ गतेदेखि महिला फुटबल र ९ गतेदेखी बक्सिङ खेल प्रतियोगिता हुने सदस्य सचिव भण्डारीले बताउनुभयो । प्रतियोगिताको लागि आठ करोड ४ लाख रकम खर्च हुने अनुमान गरेको छ । विभिन्न खेलमा करिब २ हजार भन्दाबढी खेलाडीले सहभागिता जनाउनेछन् । खेलको समापन कार्यक्रम १२ गते शनिबार काभ्रेको धुलिखेलमा हुनेछ ।











