मकवानपुर – बागमती प्रदेशका १३ वटै जिल्लाका जिल्ला खेलकुद विकास समितिका अध्यक्षहरु पदमुक्त भएका छन् । गत विहीबार बसेको प्रदेशको मन्त्रिपरिषदको बैठकले प्रदेश खेलकुद विकास नियमावली संशोधन गरी जिल्ला अध्यक्षहरुको पदावधि दुईवर्ष कायम गरेसँगै उनीहरु स्वतः पद मुक्त भएका हुन् ।
बागमती प्रदेश सरकारले आवश्यक ऐन, कानुन र नियमावली विनै हतारोमा २०७६ माघ २२ गते जिल्ला अध्यक्षहरु नियुक्त गरेको थियो । हाल मन्त्रीपरिषद बैठकले नियमावली संशोधन गरेर दुई वर्षे कार्यकाल कायम गरेसंगै उनिहरु पदमुक्त भएका हुन् । ‘अब जिल्ला खेलकुद समितिका अध्यक्षको कार्यकाल दुईवर्षको हुनेछ । यसअघि समय तोकिएको थिएन । मन्त्रिपरिषद्को वैठकबाट समय तोकिएसँगै नयाँ अध्यक्ष नियुक्त गर्न बाटो खुलेको छ ।’, प्रदेश खेलकुद विकास परिषद् सदस्य सचिव सूर्यलाल भण्डारीले भन्नुभयो ।
उहाँका अनुसार नियमावली संशोधन भएसँगै यसअघि नियुक्त भएका अध्यक्षहरुको कार्यकाल माघ २२ गते सकिएको छ । मन्त्रालयले केहिदिनमै प्रत्येक जिल्लामा अध्यक्ष नियुक्त गर्ने तयारी गरेको समेत उहाँले जानकारी दिनुभयो । अघिल्लो सरकारले माओवादीका ७ र एमालेका ६ जनालाई अध्यक्षमा नियुक्त गरेको थियो । जिल्ला खेलकुद विकास समिति ५ सदस्यीय हुने व्यवस्था रहेको छ । हाल गठबन्धनमा रहेको दलबाटै जिल्ला अध्यक्ष चयन गर्ने उहाँले बताउनुभयो । बागमती प्रदेशमा प्रदेश खेलकुदको तयारी तीब्ररुपमा अगाडि बढेका कारण पनि छिट्टोभन्दा छिट्टो अध्यक्ष नियुक्त गर्न दबाब परेको छ ।