google-photo

हेटौंडा– मकवानपुर जिल्लाका एम्बुलेन्स चालकले कोभिडका बिरामी बोकेबापत थप प्रोत्साहन भत्ता लिन पाउने भएका छन् । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा आज प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालको अध्यक्षमा भएको जिल्ला एम्बुलेन्स सञ्चालन तथा समन्वय समितिको बैठकबाट यस्तो निर्णय भएको हो ।
मकवानपुरबाट काठमाडौँ बिरामी लिएर जाने चालकलाई थप रु एक हजार र चितवन जाने चालकलाई थप रु ५०० साविकको भाडा दरमा थप गरी लिनेसक्ने गरी निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिनुभयो । सो थप गरिएको प्रोत्साहनबापतको रकम कोभिडका बिरामी बोकका एम्बुलेन्स चालकले मात्र लिन पाउने उहाँले बताउनुभयो । साविककै भाडादर कायम रहने गरी कोभिडका बिरामी बोकेबापत चालकले थप प्रोत्साहन भत्ता भाडादरमा जोडेर लिन पाउने गरी निर्णय गरिएको उहाँले जानकारी दिनुभयो ।
बैठकमा सहभागी जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले कोभिडका बिरामी बोक्ने एम्बुलेन्स चालकको समस्यालाई मध्यनजर गर्दै प्रोत्साहन भत्ता लिन सक्ने गरी निर्णय गरिएको जानकारी दिनुभयो । जोखमको असहज परिस्थितिलाई मध्यनगर गर्दै भएको सो निर्णयले एम्बुलेन्स चालकलाई ऊर्जा मिलेको एम्बुलेन्स चालक सङ्घका सचिव राजु मुक्तानले जानकारी दिनुभयो । समितिको यसअगावैको निर्णयअनुसार हेटौँडाबाट काठमाडौँ रु सात हजार ५००, हेटौँडाबाट चितवन रु तीन हजार, हेटौँडाबाट वीरगञ्ज रु दुई हजार, हेटौँडा बजार चार किल्लाभित्र रु ३०० र नगर बाहिर रु ३०० सहित प्रतिकिलोमिटर रु २५ मूल्य निर्धारण गरिएको थियो । मकवानपुर जिल्लामा कूल ३१ वटा एम्बुलेन्स सञ्चालनमा रहेका छन् ।