हेटाैंडा– स्याङ्जाका प्रहरी प्रमुखसहित १८ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय प्रमुख एसपि विमलराज कँडेलसहित १८ प्रहरीमा सोमबार कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख यामप्रसाद शर्माले बताउनुभयो ।
साउन ६ गते २ हवल्दार र १ जना सिपाहीमा कोरोना पुष्टि भएपछि कार्यालयमा कार्यरत सबैको स्वाब संकलन गरिएको थियो । त्यसपछि प्रहरी कार्यालय सिल गरिएको थियो । २ पटक गरेर एसपीसहित १ सय जनाको स्वाब परीक्षणका लागि पोखरा पठाइएको थियो । त्यसमध्ये १७ पुरुष र एक महिलामा सोमबार पोजेटिभ देखिएको हो । परीक्षणका लागि पोखरा ल्याइएका स्वाबमध्ये ६० जनाको रिपोर्ट आउन बाँकी छ । कार्यालय प्रमुखसहित २१ प्रहरीमा कोरोना देखिएपछि पुतलीबजारभित्र कडाई गरिएको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिनुभयो । उहाँले पहिलो चरणमा प्रहरी प्रमुखदेखि जवानसम्मको स्वाब लिइएको र सम्पर्कमा आएकाको खोजी थालिएको बताउनुभयो ।












