सरकारले सबै सरकारी कर्मचारीहरुको कोरोना बिमा निःशुल्क गरिदिने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि बजेट प्रस्तुत गर्दै सरकारी कर्मचारीहरुको एक लाख रुपैयाँको कोरोना बिमा निःशुल्क गरिदिने जानकारी दिएका हुन् ।
सामान्यतयाः युद्ध र महामारीको बिमा नहुने विश्वव्यापी चलन छ। यद्यपि, बिमा समितिले नयाँ अभ्यास गर्दै नयाँ पोलिसी जारी गरेको थियो । समितिले एक हजार रुपैयाँमा एक लाख रुपैयाँको र पाँच सय रुपैयाँमा ५० हजार रुपैयाँको कोराना बिमा गर्न सकिने व्यवस्था बनाएको छ । परिवारकै बिमा गर्ने हो भने एक लाख रुपैयाँको लागि ६ सय रुपैयाँ र ५० हजार रुपैयाँको लागि तीन सय रुपैयाँ रकम तिर्नुपर्नेछ । बिमाको अवधि एक वर्ष हुनेछ । बिमा गरेका कसैलाई १५ दिनपछि कोरोना (पीसीआर परीक्षण) पोजिटिभ देखिएको अवस्थामा एक लाखको गरे एक लाख र ५० हजारको गरे ५० हजार रुपैयाँ बिमा दाबी भुक्तानी हुनेछ ।