फाइल फाेटाे

मकवानपुर– हेटौंडामा र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट कोरोना भाइरसको एन्टिबडी परीक्षण गर्दा चारजनामा पोजिटिभ रिपोर्ट आएको छ । हेटौंडा उपमहानगरपालिकाभित्र भएको र्‍यापिड टेस्टमा चारजनाको पोजिटिभ देखिएको हो ।

हेटौंडा–४ वासुदेव सभागृहमा भएको र्‍यापिड टेस्टमा चारजनाको पोजिटिभ आएको स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्यायले जानकारी दिनुभयाे । बासुदेव सभागृहमा भएको ४० जनाको टेस्टमा एक महिला र ३ पुरुषमा रिपोर्ट पोजिटिभ आएको टेस्टमा संलग्न मेलानका केन्द्रीय सचिवालय सदस्य उत्सव चौलागाईंले जानकारी दिनुभएकाे छ । उनीहरुमध्ये भारत बिहार घर भइ हाल हेटौंडा–४ आफ्न्तमा आएकी ५५ वर्षीय एक महिला, भारत गएर फर्किएका हेटौंडा–२ का ६७ वर्षीय एक वृद्ध, भारत बैंग्लौरबाट फर्किएका हेटौंडा–५ का २४ वर्षीय एक युवक र साउदी अरबबाट फर्किएका ३२ वर्षीय एक युवक रहेका छन्।

उनीहरुलाई पीसीआर जाँचका लागि स्वाब संकलनका लागि हेटौंडा अस्पताल लगिएको छ । उक्त स्वाब हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको ल्याबमा परीक्षण हुनेछ। यसैगरी हेटौंडा–१५ मा गरिएको र्‍यापिड टेस्टमा भने सबैको नेगेटिभ पाइएको छ। हेटाैंडा–१५ मा ९ जनाकाे परिक्षण गरिएकाे थियाे । मकवानपुरका विभिन्न स्थानीय तहरुले वैदेशिक रोजगारीबाट फर्किएका तथा स्थानीय तहको सम्पर्कमा आएकाहरुको ¥यापीड टेस्ट सुरु गरेका छन् । जिल्लामा वैदेशिक रोजगारीबाट फर्किएका ४९७ जना सम्पर्कमा आएक छन् ।