यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार बेल्जियमका वैज्ञानिक फ्रान्सिस हाल्जेनले पाउनुहुने भएको छ । अन्तरिक्षमा उत्पन्न उच्च ऊर्जायुक्त न्युट्रिनोको खोज तथा ‘आइसक्युब न्युट्रिनो अब्जर्भेटरी’ स्थापनामा निर्णायक योगदान पुर्याएबापत नोबेल समितिले ८२ वर्षीय हाल्जेनलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।
उहाँले १ करोड १० लाख स्वीडिश क्रोनर नगद पुरस्कार र पदक प्राप्त गर्नुहुनेछ । ‘आइसक्युब न्युट्रिनो अब्जर्भेटरी’ ले सुदूर ब्रह्माण्डमा उत्पन्न भएका न्युट्रिनोहरूको निगरानी गर्छ । न्युट्रिनो ब्रह्माण्डका अत्यन्त ऊर्जाशील स्रोतबाट आउने सूक्ष्म कण हुन् ।
हिजो यस वर्षको पहिलो नोबेल पुरस्कारअन्तर्गत चिकित्साशास्त्रतर्फका विजेताको नाम घोषणा भएको थियो । अब रसायनशास्त्र, बिहीवार साहित्य, शुक्रवार शान्ति र आउँदो सोमवार अर्थशास्त्रतर्फ विजेताको नाम घोषणा हुनेछ । विगत १२ महिनामा ‘मानव जातिका लागि उच्चतम लाभ हुने काम गरेका’ व्यक्तिलाई नोबेल पुरस्कारबाट सम्मानित गरिन्छ ।

प्रकाशित मिति: मंगलबार, असोज २०, २०८३