हेटाैंडा, असाेज २० । नेपाल आयल निगमको राष्ट्रिय प्राथमिकता प्राप्त ‘अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइन तथा ग्रिन फिल्ड टर्मिनल परियोजना’ अन्तर्गत निर्माण कार्यले तिब्रता पाएको छ । चितवनको राप्ती नगरपालिका–१ लोथरमा अहिले जग्गा व्यवस्थापनका लागि ‘ल्याण्ड फिलिङ’ र बाहिरी पर्खाल लगाउने काम धमाधम भइरहेको छ भने यससँगै वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) को काम पनि अन्तिम चरणमा पुगेको जनाइएकाे छ ।
परियोजनाका अनुसार लोथरस्थित करिब २३ बिघा १२ कट्ठा क्षेत्रफलमा अत्याधुनिक सुविधासहितको ग्रिन फिल्ड टर्मिनल निर्माण हुनेछ । भारतीय आयल कर्पोरेसन (आइओसी) को मोतिहारी डिपोस्थित पम्प हाउसबाटै लोथरसम्म पेट्रोलियम पदार्थ पम्पिङ गर्ने व्यवस्था मिलाइनेछ । अमलेखगन्जदेखि लोथरसम्म करिब ६२ किलोमिटर दूरीमा १० दशमलव ७५ इन्चको पाइपलाइन बिच्छ्याइनेछ ।
पूर्वपश्चिम राजमार्गको समानान्तर रहने यो पाइपलाइनले हेटौँडा बजार क्षेत्रलाई भने छल्नेछ (बाइपास गर्नेछ) । आयोजना प्रमुख एवं नेपाल आयल निगमका निर्देशक प्रदीपकुमार यादवका अनुसार अमलेखगन्जबाट आउँदा रातोमाटेभन्दा अगाडि नदीको बीचबाट जाने पाइपलाइन हेटौँडा बजार कटिसकेपछि राप्ती पुल नजिक बाहिर निस्कने गरी डिजाइन तय गरिएको छ ।
जग्गा सम्याउने र बाहिरी पर्खाल लगाउने पहिलो चरणको जिम्मा मोतीदान कन्स्ट्रक्सनले पाएको छ । करिब ७९ करोड रुपैयाँको यस ठेक्काको अवधि एक वर्षको भए पनि ठेकेदार कम्पनीले ८ देखि ९ महिनाभित्रै काम सम्पन्न गर्ने गरी जनपरिचालन र कच्चा पदार्थ सङ्कलनको काम तिब्र पारेको छ । उक्त आधारभूत संरचना तयार भएपछि निगमले भण्डारण गृह तथा अन्य भौतिक संरचना निर्माणका लागि आइओसीलाई जिम्मा दिनेछ ।
हवाई इन्धन पनि पाइपलाइनबाटै, वार्षिक दुई अर्ब बचत हुने
लोथरमा बन्ने नयाँ डिपोमा पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धन गरी कुल ९१ हजार ९०० किलोलिटर पेट्रोलियम पदार्थ भण्डारण क्षमता रहनेछ । जसमा हवाई इन्धनका लागि मात्रै ३ हजार ६०० किलोलिटर क्षमताका तीन वटा ट्याङ्कहरू निर्माण गरिनेछन् ।
हाल निगमले भारतको बरौनीबाट करिब ४०० किलोमिटर टाढाबाट ट्याङ्करमार्फत हवाई इन्धन ढुवानी गर्दै आएको छ । लोथरमा पाइपलाइनमार्फत नै हवाई इन्धन भित्रिने भएपछि प्रतिलिटर ५ रुपैयाँ ढुवानी खर्च जोगिने र यसबाट वार्षिक करिब २ अर्ब रुपैयाँ बचत हुने अनुमान गरिएको छ । यस परियोजनाको कुल लागत १४ अर्ब ९ करोड ६० लाख रुपैयाँ अनुमान गरिएको छ ।
पछिल्लो समय नेपाल–भारतबीच भएको द्विपक्षीय समझदारी र २०८१ असोजमा भएको सम्झौता अनुसार काम सुरु भएको ५४ महिनाभित्र परियोजना सम्पन्न गर्ने लक्ष्य लिइएको छ । दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पाइपलाइनका रूपमा २०७६ सालदेखि मोतिहारी–अमलेखगन्ज खण्ड सञ्चालनमा आइसकेको छ । अमलेखगन्जसम्मको पाइपलाइनले नेपालको हालको ७० प्रतिशत माग धान्दै आएकोमा, लोथरसम्मको विस्तारले विशेषगरी देशको पश्चिमी र उत्तरी क्षेत्रमा पेट्रोलियम पदार्थको आपूर्ति अझ बढी सहज, सुरक्षित र सुलभ हुने विश्वास गरिएको छ । #रेडियाेनेपाल अनलाइनबाट












