फाल्गुन १७, झापा । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन साधारण चुनाव मात्र नभएर जनमत सङ्ग्रहसमेत रहेको बताउनुभएको छ । फागुन २१ को प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गएका बेला ओलीले आफ्नो निर्वाचन क्षेत्र झापा ५ का मतदाताहरूसँग साक्षात्कार गर्ने क्रममा आज दमक १ मा भएको कार्यक्रममा यो निर्वाचनले राष्ट्रवादी र राष्ट्रविरोधी कित्ताको निर्क्योल गर्ने भएकाले यसलाई साधारण चुनाव मात्र नभई जनमत सङ्ग्रहको रुपमा लिनुपर्ने बताउनुभयो ।
यो निर्वाचनबाट जनताले राष्ट्रवादी र राष्ट्र विरोधी कित्ताको निर्क्योल गर्ने उहाँले बताउनुभयो । देशलाई अस्तव्यस्तामा धकेलेर अस्थिरता निम्त्याउन खोज्नेहरू सक्रिय हुन खोजेको भन्दै अध्यक्ष ओलीले आगामी चुनावबाट त्यस्तालाई सधैँका लागि थान्को लगाउनुपर्ने बताउनुभयो । नेपालाई विदेशीको परेड खेल्ने स्थल हुनबाट जोगाउन समेत आगामी निर्वाचनबाट राष्ट्रवादी शक्तिको जीत जरुरी रहेको उल्लेख गर्नुभयो ।