हेटौंडा– नेपाल राष्ट्रिय अभिभावक संघ मकवानपुरको अध्यक्षमा ध्रुवप्रसाद चौलागाई निर्वाचित हुनुभएको छ । आज हेटौंडामा भएको साधारणसभाबाट चौलागाईको अध्यक्षतामा २४ सदस्यीय जिल्ला समिति चयन गरेको हो । ३१ सदस्यीय जिल्ला समिति हुने व्यवस्थाअनुसार ७ जना मनोनित गरिनेछ । निवर्तमान अध्यक्ष साधुराम चौलागाईको अध्यक्षता तथा संघको केन्द्रीय सदस्य मधुसुदन पौडेलको प्रमुख आतिथ्यतामा साधारणसभा भएको हो । साधारणसभाबाट उपाध्यक्षमा खेमराज जर्गामगर, जुना दाहाल, सचिवमा नरहरि महत, सहसचिवमा कमल कुमार विश्वकर्मा, अप्सरा बस्नेत र कोषँध्यक्षमा देवेन्द्र कोइराला चयन हुनुभएको छ । सामुदायिक तथा संस्थागत विद्यालयमा अभिभावकको भूमिका र शैक्षिक गुणस्तर अभिवृद्धिमा अभिभावकको योगदान बढाउने उद्देश्यले संघको सक्रियता रह“दै आएको छ । नवनिर्वाचित अध्यक्ष चौलागाईले आम नागरिकका छोराछोरी अध्ययन गर्ने सरकारी विद्यालयको गुणस्तर अभिवृद्धि गर्ने र निजी विद्यालयको पारदर्शिता, उचित शिक्षण शूल्क एवम् शैक्षिक वातावरण निर्माणमा संघले आवश्यक सहजीकरण गर्ने बताउनुभएको छ । साधारणसभामा संघका केन्द्रीय सदस्य भरत दूलाल र मानबहादुर लामाको पनि उपस्थिति रहेको थियो ।