मकवानपुर, माघ १५ । सहिद सप्ताह २०८२ का अवसरमा छैटौं दिन आज माध्यमिक तहस्तरीय वक्तित्वकला प्रतियोगिता सम्पन्न भएको छ । विभिन्न कार्यक्रम गरेर सहिद सप्ताह मनाउने क्रममा आज “सहिदको सपना र नवयुवाको कर्तव्य” विषयक वक्तिवकला प्रतियोगिता सम्पन्न भएको हो ।
सहिद स्मारक विकास समितिको आयोजना तथा मदन भण्डारी फाउण्डेसन मकवानपुरको व्यवस्थापनमा भएको प्रतियोगितामा सिद्धार्थ माविकी छात्रा कृतिका झाक्री मगर प्रथम नगद १० हजार र प्रमाणपत्र प्राप्त गर्नु भएको छ । यस्तै प्रतियोगितामा चन्द्रोदय माविकी छात्रा रितिका खतिवडा द्वितीय र ब्रहमदिक ऐकेडेमिका छात्रा प्रीयान्सु पोखरेल तृतीय हुनुभयो । उहाँहरुले क्रमश नगद ७ हजार र पाँचहजारसहित प्रमाणपत्र प्राप्त गर्नुभएको फाउन्डेसनका सचिव कुमार केसीले जानकारी दिनुभयो ।
मदन भण्डारी फाउण्डेसन मकवानपुरका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा भएको वक्तृत्वकला प्रतियोगिता सहिद स्मारक विकास समितिका अध्यक्ष एवम बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणी पौडेलको प्रमुख आतिथ्यतामा भएको हो । जिल्लाका विभिन्न विद्यालयका ५ जना छात्र, २७ छात्रा गरि ३२ जाना विद्यार्थीहरुको सहभागीता रहेको प्रतियोगितामा डा. घनश्याम घिमिरे, मनोज पोख्रेल र भावना सापकोटाले निर्णयकको भूमिका निर्वाह गर्नु भएको थियो ।
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत भोली अन्तिम दिन माघ १६ गते बागमती प्रदेश सरकारको समन्वयमा प्रभातफेरी, सहिद प्रति सलामी, माल्यार्पण, श्रद्धात्तजली सभा, श्रीचन्द्र शर्मा स्मृति सम्मान पुरस्कार वितरण र समापन कार्यक्रम हुने स्मारक विकास ससमितिका सचिव रघुनाथ खुलालले जानकारी दिनुभयो ।