हेटौंडा, माघ १३ । सहिद दिवस–२०८२ को चाैथाे दिन मंगलबार रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । सहिद दिवशको अवसरमा सप्ताहब्यापी कार्यक्रम अन्तरगत भएको कार्यक्रममा १९ जनाले रक्तदान गरेका छन् ।

हेटौँडा–११ स्थित सहिद स्मारक विकास समितिको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी नवलपुर उपशाखाको व्यवस्थापनमा रक्तदान कार्यक्रम भएको कार्यक्रममा १९ जनाले रक्तदान गरेकाे स्मारक विकास समितिका सचिव रघुनाथ खुलालले बताउनुभयाे । सहिद स्मारक विकास समितिका अध्यक्ष डोरमणि पौडेलको उपस्थितिमा रक्तदान कार्यक्रम भएको हो ।
कार्यक्रमको पहिलो दिन माघ १० गते पत्रकार भेटघाट तथा कार्यक्रम सार्वजनिक, माघ ११ गते सहिद स्मारक परिसरमा सरसफाई, माघ १२ गते सहिद स्मारक विकास समितिको परिषद बैठक (साधारणसभा) र सहिद स्मारक र विद्यार्थीबीच अन्तरक्रिया र माघ १३ गते आज रक्तदान कार्यक्रम सम्पन्न भएकाे सचिव खुलालले बताउनुभयाे ।
उहाँका अनुसार साताव्यापी कार्यत्रफम अन्तरगत भाेली माघ १४ गते हेटौंडा–१२ स्थित प्रथम सहिद लखन थापा बाटिकामा श्रद्धात्तजली कार्यक्रम, माघ १५ गते मदन भण्डारी फाउन्डेसन मकवानपुरको व्यवस्थापनमा सहिदको सपना र नवयुवाको कर्तव्य विषयक माध्यमिक तह स्तरीय वक्तृत्वकला प्रतियोगिता र अन्तिम दिन माघ १६ गते बागमती प्रदेश सरकारको समन्वयमा प्रभातफेरी, सहिद प्रति सलामी, माल्यार्पण, श्रद्धात्तजली सभा, श्रीचन्द्र शर्मा स्मृति सम्मान पुरस्कार वितरण र समापन कार्यक्रम हुने खुलालले जानकारी दिनुभयो ।









