हेटाैंडा, माघ ८ । हेटौँडा उपमहानगरपालिका–१० नम्बर वडा कार्यालयको आयोजनामा यहि माघ १६ र १७ गते तेस्रो घरेलु उत्पादन प्रवर्द्धन प्रदर्शनी तथा नृत्य प्रतियोगिता आयोजना हुने भएको छ । बिहीबार वडा कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा वडाध्यक्ष फूर्वा दोर्जे तामाङले दुई दिनसम्म सञ्चालन हुने मेलामा घरेलु उत्पादनको प्रदर्शनी, कृषि सामग्री, सांगीतिक प्रस्तुति तथा नृत्य प्रतियोगिता समावेश हुने जानकारी दिनुभयाे ।
पत्रकार सम्मेलनमा वडाध्यक्ष तामाङले हेटौँडा उपमहानगरपालिकाका १९ वटै वडाको सहभागितामा मेला आयोजना गरिने बताउनुहुँदै राजनीतिक दल, टोल विकास संस्था, उद्योग वाणिज्य संघ मकवानपुर, सामुदायिक वन उपभोक्ता समूह तथा हेटौँडा–१० को ब्रान्ड बनेको ढाका उद्यमी समूहको सहकार्यमा मेला सञ्चालन हुने जानकारी दिनुभयाे । स्थानीय साना उद्योग तथा लघु उद्यमीले उत्पादन गरेका वस्तुको प्रवर्द्धन, प्रदर्शनी र बजारीकरणमा सहयोग गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएकाे भन्दै उहाँले मेलामा स्थानीय जातजाति, भेषभूषा झल्कने पर्यटन तथा खाना महोत्सवसहित सांस्कृतिक पहिचान झल्कने नृत्य प्रतियोगिता पनि हुने बताउनुभयाे ।
दुईदिने मेलामा घरेलु उत्पादनका लागि १ सय वटा स्टल रहने साथै स्टल निःशुल्क उपलब्ध गराइनेछ भने सहभागी व्यवसायीका लागि यातायातको समेत व्यवस्था गरिने र उत्कृष्ट प्रदर्शन गर्ने सहभागीलाई पुरस्कार प्रदान गरिने ताइएकाे छ ।
त्यस्तै नृत्य प्रतियोगितामा पहिलो हुनेलाई ५० हजार, दोस्रोलाई ३५ हजार, तेस्रोलाई २० हजार र सान्त्वना हुने चार जनालाई जनही ५ हजार रुपैयाँसहित सम्मान पत्र प्रदान गरिने आयोजकले जनाएको छ । साथै, वडामा स्थायी बसोबास गरी सामुदायिक विद्यालयबाट एसईई र माध्यमिक तहमा ३.२५ जीपीए तथा संस्थागत विद्यालयबाट एसईईमा ३.२५ र माध्यमिक तहमा ३.६५ जीपीए ल्याउने विद्यार्थीलाई पुरस्कृत गरिने उहाँले बताउनुभयाे ।
मेलाको समापन समारोहमा राष्ट्रिय खेलाडी, अटोमेकानिक मिस्त्री तथा विभिन्न उद्यमीलाई सम्मान गर्ने कार्यक्रम पनि राखिएको छ । मेला सम्पन्न गर्न मूल समिति तथा ६ वटा उपसमिति गठन गरिएको छ भने कार्यक्रमका लागि ८ लाख रुपैयाँ लागत अनुमान गरिएको वडाध्यक्ष तामाङले जानकारी दिनुभयो ।











