हेटौंडा, माघ ६ । हेटौँडा–९ स्थित प्रगति माध्यमिक विद्यालयको स्वर्ण महोत्सव विविध कार्यक्रमसहित मंगलबारबाट सुरु भएको छ । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले महोत्सवको उद्घाटन गर्नुभएको हो ।
स्वर्ण महोत्सवको अवसरमा विद्यालयले विद्यालय गीत सार्वजनिक गरेको छ । विद्यालयका पूर्वविद्यार्थी साहित्यकार विना थिङले रचना गर्नुभएको गीतमा पूर्वविद्यार्थी चेतना सापकोटाले स्वर दिनुभएको विद्यालयका प्रधानाध्यापक किशोर पराजुलीले जानकारी दिनुभयो । उद्घाटन समारोहमा विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए भने शिक्षकहरूले पनि नृत्य प्रस्तुत गरेका थिए ।
स्वर्ण महोत्सवका अवसरमा विद्यार्थीहरूले खानाका स्टल सञ्चालन गरेका छन् भने शैक्षिक सामग्रीको प्रदर्शनी पनि गरिएको छ । यसअघि विद्यालयले महिला शिक्षक भलिबल प्रतियोगिता तथा जिल्लास्तरीय शिक्षक सम्मेलन आयोजना गरिसकेको छ ।

उद्घाटन समारोहमै विद्यालयले विद्यालय व्यवस्थापन समिति, शिक्षक–अभिभावक संघका पूर्वपदाधिकारीहरू तथा पूर्वप्रधानाध्यापकहरूलाई सम्मान गरेको प्रधानाध्यापक पराजुलीले बताउनुभयो । विद्यालयले मंगलबारदेखि शुक्रबारसम्म स्वर्ण महोत्सव विशेष कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । समापन समारोहका अवसरमा स्मारिका सार्वजनिक गर्ने कार्यक्रम पनि तय गरिएको छ ।
स्वर्ण महोत्सवकै अवसरमा छात्रवृत्ति अक्षयकोषमा १० लाख रुपैयाँ थपिएको छ । यससँगै विद्यालयको अक्षयकोष २० लाख रुपैयाँ पुगेको छ । त्यस्तै, स्वर्ण महोत्सव सहयोग संकलन अभियानबाट ३२ लाख रुपैयाँ संकलन भएको विद्यालयले जनाएको छ । शुक्रबार हुने समापन समारोहमा विद्यालयका संस्थापक प्रधानाध्यापक राधादेवी शाहको प्रतिमा अनावरण गरिनेछ । कक्षा १२ सम्म पठनपाठन हुने प्रगति माध्यमिक विद्यालयमा हाल १ हजार २ सय ७५ जना विद्यार्थी अध्ययनरत छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र लामिछानेको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा हेटौँडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँसहित विभिन्न वडाध्यक्षहरूको उपस्थिति रहेको थियो । स्वर्ण महोत्सव मा आज बुधबार विद्यालयले साहित्य सम्मेलन आयोजना गर्दैछ । साहित्य उत्सवअन्तर्गत जिल्लाभरका विभिन्न विद्यालयका विद्यार्थीहरूको रचना वाचन हुनेछ । साथै साहित्यकार भूपिन, निमेष निखिल र विना थिङको सहभागितामा पठन संस्कृति विषयक बहस हुने कार्यक्रम रहेको छ । मकवानपुरका साहित्यकारहरूको रचना वाचन पनि समावेश गरिएको छ ।











