हेटाैंडा, माघ ४ । हेटौँडा–९ स्थित प्रगति माध्यमिक विद्यालयको आयोजनामा शनिबार जिल्लास्तरीय विद्यालय शिक्षक सम्मेलन सम्पन्न भएको छ । विद्यालयको स्वर्ण महोत्सवको अवसर पारेर आयोजना गरिएको उक्त सम्मेलनमा मकवानपुर जिल्लाभरका २ सय जना शिक्षकहरूको सहभागिता रहेको विद्यालयका प्रधानाध्यापक किशोर पराजुलीले जानकारी दिनुभयो ।
‘उज्यालो भविष्यका लागि शिक्षक रुपान्तरण’ भन्ने विषयमा केन्द्रित सम्मेलनमा डा. वासुप्रसाद सुवेदी, शिक्षामन्त्री महाविर पुनका विज्ञ सल्लाहकार अभिषेक घिमिरे र मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले मुख्य प्रस्तुतीकरण दिनुभएको थियो ।
सम्मेलनका क्रममा सम्बन्धित विषयवस्तुमा आधारित रहेर ४ वटा समानान्तर सत्रहरू सञ्चालन गरिनुका साथै प्यानल छलफल समेत गरिएको थियो । प्यानल छलफलको सहजीकरण डा. सुवेदीले गर्नुभएको प्रधानाध्यापक पराजुलीले बताउनु भयो । प्रधानाध्यापक पराजुलीका अनुसार विद्यालयले माघ ६ गतेदेखि ९ गतेसम्म विभिन्न कार्यक्रमहरू आयोजना गरी स्वर्ण महोत्सव मनाउँदैछ । स्वर्ण महोत्सवको पूर्वसन्ध्यामा विद्यालयले शुक्रबार छात्रा भलिबल प्रतियोगिता र शनिबार शिक्षक सम्मेलन आयोजना गरेको थियो । शिक्षण पेसालाई समयसापेक्ष र रूपान्तरणमुखी बनाउने उद्देश्यले सम्मेलनको आयोजना गरिएको उहाँको भनाइ छ ।