काठमाडौँ, पुस २२ । नेकपा एमालेले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार छान्ने जिम्मा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिने निर्णय गरेको छ । पार्टी कार्यालय च्यासलमा आज बसेको एमाले सचिवालय बैठकले अन्य दलसँग छलफल गरी उम्मेदवारको टुङ्गो लगाउने जिम्मेवारी अध्यक्ष ओलीलाई दिएको उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो ।
बैठकले अध्यक्ष ओलीको संयोजकत्वमा आम निर्वाचन घोषणा पत्र मस्यौदा समिति र उपाध्यक्ष रामबहादुर थापा बादलको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन गरेको छ । बैठकले पार्टीका पदाधिकारी र केन्द्रीय कमिटीका सबै सदस्यहरूलाई जिम्मेवारी तोकेको छ । यस्तै बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीका लागि पनि विभिन्न कमिटी बनाउने निर्णय गरेको उपमहासचिव भट्टले बताउनुभयो ।