नेपाल सरकारका नवनियुक्त चार जना मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिनु भएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज चार नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु भएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हा, कृषि तथा पशुपन्छी विकास मन्त्री मदन परियार, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनलाई शपथ गराउनुभयो । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा मन्त्री बन्नु भएका उहाँहरुसँगै मन्त्रिपरिषद् आठ सदस्यीय भएको छ । यसअघि रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याल मन्त्री बन्नु भएको थियो । शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष, मन्त्रीलगायत नेपाल सरकारका विशिष्ट अधिकारीहरूको उपस्थिति रहेको थियो ।