मकवानपुर, साउन ३० । बागमती प्रदेश सरकारले लम्पी स्किन रोग नियन्त्रण तथा रोकथामका लागि भदौ १ देखि ७ गतेसम्म सप्ताहव्यापी खोप अभियान सञ्चालन गर्ने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले शुक्रवार (आज) पत्रकार सम्मेलनमार्फत खोप अभियान बारे जानकारी दिएको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार अभियानको आईतबार ललितपुरको कोञ्ज्योसोम गाउँपालिका–१ मा मन्त्री मधुसुदन पौडेलले उद्घाटन गर्नुहुने छ । अभियान अन्तरगत यस वर्ष १३ वटै जिल्लामा १ लाख २० हजार गाई–भैंसीमा खोप लगाइने लक्ष्य राखिएको छ ।
मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत डा. राम प्रकाश प्रधानले चितवनमा ३० हजार, मकवानपुरमा २५ हजार, काभ्रेमा १४ हजार, नुवाकोट र सिन्धुलीमा १२–१२ हजार, धादिङमा ११ हजार, ललितपुरमा १० हजार र दोलखामा ६ हजार डोज पठाइने जानकारी दिनुभयो । उहाँका अनुसार खोप सङ्घीय सरकारले उपलब्ध गराउने र अन्य खर्च भने प्रदेश सरकारले व्यहोर्नेछ।
असार–साउनमा मात्रै प्रदेशमा ७४ गाई–भैंसीको मृत्यु र १ हजार ६३३ मा सङ्क्रमण पुष्टि भएको उहाँले बताउनुभयो । मकवानपुर, सिन्धुली, काभ्रे र सिन्धुपाल्चोकमा बढी प्रकोप देखिएको बताउनु हुँदै उहाँले लम्पी स्किन रोगले दूध उत्पादन २५ देखि ८० प्रतिशतसम्म घटाउने, उच्च ज्वरो, गाँठा, सुन्निने र हिँड्न गाह्रो हुने लक्षण देखिने जानकारी दिनुभयो ।
प्रधानका अनुसार आर्थिक वर्ष २०८०÷८१ मा प्रदेशभर ११ हजार २१८ गाई–भैंसीको मृत्यु भएको थियो भने ३७ हजार ८९ सङ्क्रमित भएका थिए । अहिलेसम्म प्रदेशभर २ लाख ४५ हजार २२२ पशुलाई खोप लगाइसकिएको छ । नेपालमा यो रोग पहिलो पटक २०७७ असारमा देखिएको हो र अहिले ७७ वटै जिल्लामा फैलिएको छ। मन्त्रालयको अनुमानमा यो रोगका कारण देशभर करिब ७५ अर्ब ४८ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।
बागमती प्रदेशका ११९ स्थानीय तहमा ६ लाख ९४ हजार २१७ गाई र ५ लाख ४९ हजार १८२ भैंसी छन्, जसबाट वार्षिक ४ लाख ८१ हजार ७७१ मेट्रिक टन दूध उत्पादन हुन्छ। दूध उत्पादनमा चितवन अग्रणी छ (९५ हजार १ सय ४१ मेट्रिक टनं), त्यसपछि काभ्रे, मकवानपुर र धादिङ छन् । पत्रकार सम्मेलनमा मन्त्री पौडेलले सम्भावित क्षति कम गर्न र दुग्ध उत्पादन जोगाउन खोप अभियान प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।