मकवानपुर, असार १९ । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले वडाध्यक्षहरुमाथि निरन्तर आक्रमण भइरहेको भन्दै भोली शुक्रबार सेवा नदिने निर्णय गरेको छ । बिहीबार ४ नम्बर वडाअध्यक्ष नविन सिग्देलमाथि हातपात भएको विरोधमा सेवा बन्द गर्ने निर्णय गरेको हो ।
४ नम्बर वडाअध्यक्ष नविन सिग्देलमाथि बिहीबार (आज) हातपात भएको हो । बिहीबार हेटौंडा–४, स्थित हेटौंडा क्याम्पसअगाडिबाट हुप्रचौरतर्फ निस्कने सडक विस्तारको विषयमा छलफल भइरहेका बेला उहाँमाथि हातपात भएको थियो । वडाध्यक्ष सिग्देलमाथि आक्रमणको घटनापछि बिहीबार कार्यपालिका बैठक बसेर शुक्रबार सेवा नदिने निर्णय गरेको हो ।
यस अघि गत असार ४ गते १ नम्बर वडाध्यक्ष सविन न्यौपानेमाथि आक्रमणको घटनाको दोषी पक्राउ पर्न नसकिरहेका बेला बिहीबार बिहान हेटौँडा–४ का वडाध्यक्षमाथि पनि आक्रमण भएको भन्दै हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले शुक्रबार सेवा नदिने बताउनुभयो । बिहीबार साँझ उपमहानगरपालिकामा पत्रकार सम्मेलन गरेर जनप्रतिनिधिहरुमाथि सुरक्षा चुनौति बढेको नगरप्रमुख लामाले बताउनुभयो । पत्रकार सम्मेलनमा वडा अध्यक्ष सिग्देलले वडामा निर्माण कार्यको अवलोकन गर्ने क्रममा आफूमाथि आक्रमण भएको बताउनुभयो ।












