३ जेष्ठ, मकवानपुर । जनताको बहुदलीय जनवाद (जबज) को सिद्धान्त नेपालमा आज पनि उत्तिकै सान्दर्भिक रहेको शुक्रबार हेटौंडामा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताउनुभएको छ । मदन भण्डारी फाउन्डेसन मकवानपुरले आयोजना गरेको बहस कार्यक्रमका वक्ताहरुले राष्ट्र निर्माणका लागि जबजको सान्र्दभिकता आज पनि उत्तिकै सान्दर्भिक र आवश्यक रहेको बताउनुभएको हो ।

३२औं मदन–आश्रित स्मृति दिवसका अवसरमा आयोजित “जनताको बुहदलिय जनवादः राष्ट्र निर्माणको आधार” विषयक बहस कार्यक्रमका वक्ताहरुले नेकपा (एमाले) का पूर्व महासचिव मदनकुमार भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादले नेपालको कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिक र समावेशी बनाउने दिशामा महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो । २०४९ सालको पार्टी महाधिवेशनमा प्रस्तुत गरिएको जबज सिद्धान्तले नेपालको विशिष्ट राजनीतिक परिप्रेक्ष्यमा माक्र्सवादको सिर्जनात्मक प्रयोगको उदाहरण प्रस्तुत गरेको वक्ताहरुको भनाई थियो । उहाँहरुले जनताको बहुदलीय जनवाद (जबज) कम्युनिष्टको मात्र नभई सबैको सिद्धान्त भएको हुँदा राष्ट्रिय आकांक्षा पुरा गर्न र समृद्ध नेपाल निर्माण गर्न आज पनि यो सान्दर्भिक रहेको जबजको ऐतिहासिक महत्व र नेपालको राष्ट्र निर्माणमा यसको योगदानका पक्षमा गहिरो छलफल भएको थियो ।
कार्यक्रममा सहभागी वक्ताहरूले जनताको बहुदलीय जनवादको सिद्धान्तलाई नेपालको राजनीतिक परिप्रेक्ष्यमा प्रभावकारी र समयानुकूल मान्दै यसको पुनरावलोकन र सशक्त कार्यान्वयनको आवश्यकता औँल्याउनुभयो । उहाँहरुले जबजको सिद्धान्तले नेपालको लोकतान्त्रिक प्रक्रियामा थप गहिराइ र स्थिरता ल्याउन मद्दत गर्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँहरुले जनताको बहुदलीय जनवादको ऐतिहासिक र वर्तमान सन्दर्भमा भएको योगदानलाई पुनः मूल्याङ्कन गर्दै नेपालको राष्ट्र निर्माणमा यसको भूमिका र महत्वलाई प्रभावकारी र समयानुकुल बनाउनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सहभागी वक्ताहरूले बहुदलीय प्रतिस्पर्धाको जबजको नीतिलाई नयाँ परिवेशमा अगाडि लैजानु पर्ने भन्दै वर्तमानमा, जनताको बहुदलीय जनवादको सिद्धान्तलाई विभिन्न दल र समूहहरूले फरक दृष्टिकोणबाट मूल्याङ्कन गरिरहेको भन्दै जबजले अघि सारेका सामन्तवादविरोधी राजनीतिक माग र मूल्यमान्यताहरू संविधानमा नै संस्थागत भएको बताउनुभयो । कार्यक्रममा फाउन्डेसनका सदस्य अधिवक्ता मुकुन्द अधिकारीले जबजका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । भने, कार्यपत्र माथि पूर्व राष्ट्रिय सभा सदस्य केदार न्यौपाने र प्राध्यापक घनश्याम घिमिरेले टिप्पणि गर्नुभएको थियो ।
मदन भण्डारी फाउन्डेसन मकवानपुरका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षता भएको बहस कार्यक्रममा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । बहस कार्यक्रममा एमाले केन्द्रिय सदस्य रामेश्वर राना, पूर्व राष्ट्रियसभा सदस्य केदार न्यौपाने, संविधान सभा सदस्य प्रह्लाद लामिछाने, नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, उद्योग परिसंघ बागमती प्रदेशका अध्यक्ष लेखराज पोखरेल, प्राध्यापक शंकर उपाध्याय र गैसस मकवानपुरकी अध्यक्ष रमिला सापकोटाले “जनताको बुहदलिय जनवादः राष्ट्र निर्माणको आधार” विषयमा धारणा राख्नुभएको थियो । स्मृति दिवस दिवशका अवसरमा फाउन्डेसनले हिजाे बृद्धाश्रममा खाद्यान्न वितरण गरेको थियाे भने, जेठ ३ गते भाेली हेटौडा–९ स्थित दिव्य वाल उद्यानमा श्रद्धाञ्जली सभा आयोजना गर्ने फाउन्डेसनका सचिव कुमार केसीले जानकारी दिनुभयो ।