मकवानपुर । मकवानपुर जिल्लाको १० स्थानीय तह मध्ये भाडाको घरमा सञ्चालित एकमात्र मनहरी गाउँपालिकाको सुविधासम्पन्न प्रशासनिक भवन (सिंहदरबार) निर्माण कार्य दु्रत गतिमा अगाडी बढेको छ । लामो समयदेखि भाडाको घरबाट सेवा प्रवाह गर्दै आएको मनहरी गाउँपालिकाको सुविधासम्पन्न आफ्नै भवन निर्माण दु्रत गतिमा अगाडी बढेको छ ।
जग्गा अभावका कारण निर्माण प्रकृया अगाडी बढाउन नसकेको गाउँपालिकाले यसै वर्ष जग्गा प्राप्त गरि मनहरी–९, रजैयामा सुविधासम्पन्न तीन तले भवन निर्माण प्रकृया अगडी बढाएको हो । राष्ट्रिय वन क्षेत्रको ६ कठ्ठा क्षेत्रफल जग्गाको स्वामित्व गाउँपालिका अन्तर्गत ल्याएर गाउँपालिकाको भवन निर्माण कार्य थालेको गाउँपालिकाका बरिष्ठ लेखा अधिकृत राजेन्द्र भट्राईले जानकारी दिनुभयो । पालिकाको प्रशासनिक भवनको तामाकोसी–ढाँचा निर्माण सेवा जेभी बालाजु –१६ काठमाडौँले निर्माणको ठेक्का पाएको छ । असोज १४ गते सम्झौता भएको भवनको २०८२ चैत ३० गते निर्माण सम्पन्न हुने उल्लेख छ । तीन तल्लाको निर्माण हुने भवनको कुल लागत ८ करोड २८ लाख ६ हजार १७८ रुपियाँ ३९ पैसा रहेको छ ।
कर्मचारी र कार्यालयविहीन अवस्थामा सुरु भएको स्थानीय सरकार सञ्चालनको दोस्रो कार्याकालको अन्त्यसम्ममा मनहरी गाउँपालिकाले आफ्नै प्रशासनिक भवनबाट कार्यसम्पादन सुरु गर्ने गरि काम अगाडी बढेको गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले बताउनुभयो । निर्माणाधिन भवन अपाङ्गमैत्री र नयाँ प्रविधियुक्त हुने अध्यक्ष कालाखेतीले जानकारी दिनुभयो । भवन निर्माण भए पश्चात् पालिकाले दिने सेवा थप प्रभावकारी हुनुका साथै आर्थिक बचत समेत हुने उहाँको भनाइ छ । देश संघीयताम गएसंगै स्थानीय सरकारमा जनप्रतिनिधि आएछि गाउँको सिंहदरबार निर्माणले सार्थकता पाउँदै आएको हो ।
पहिलो कार्यकालमा तीनवटाको भवन निर्माण
मकवानपुर जिल्लाका १० स्थानीय तहमध्ये पहिलो कार्यकालमा तीनवटा स्थानीय तहले आफ्नै सुविधासम्पन्न भवन निर्माण गरेका हुन् । जिल्लाको हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिका बाहेक अन्य स्थानीय तहहरुले पहिलो कार्यकालमा भाडाका वा अस्थाई भवनबाट सेवा प्रवाह गर्दै आएकोमा तीन वटा स्थानीय तहले आफ्नै सुविधासम्पन्न भवन निर्माण गरेर सेवा प्रवाह गरेका हुन् । पहिलो कार्यकालमा जिल्लाको भीमफेदी, मकवानपुरगढी र कैलाश गाउँपालिकाले आफ्नो भवन निर्माण सम्पन्न गरी नयाँ भवनबाटै दैनिक कामकाज सञ्चालन गरिरहेका छन् । तीमध्ये भीमफेदी र कैलाश गाउँपालिकाको भवन जिल्ला समन्वय समितिको मौजदात कोषको रकमबाट निर्माण भएको हो ।
भीमफेदी गाउँपालिकाले संघियतापछि जिल्लामै पहिलो पटक ४२ कोठे सुविधासम्पन्न भवन ४ करोड १२ लाख रुपैयाँ लागतमा निर्माण गरेको हो । उक्त भवन निर्माणका लागि जिल्ला समन्वय समितिबाट ८ कठ्ठा ८ रोपनी जग्गा र २ कोरोड रुपैया, संघिय सरकारबाट एक करोड ४० लाख र बाँकी ७२ लाख ८२ हजार रुपैया गाउँपालिकाको लगानी रहेको गाउँपालिका अध्यक्ष हिदम लामाले जानकारी दिनुभयो । गाउँपालिकाले उक्त भवनबाट २०७८ साल साउन ३२ गतेबाट सेवा प्रवाह सुरु गरेको हो ।
यस्तै जिल्लाको बिकट कैलाश गाउँपालिकले जिल्ला समन्वय समितिको २ करोड र बाँकी पालिकाको ३ करोड १८ लाख ५३ हजार ९२५ रुपैयाँ बजेटबाट २६ कोठे सुविधासम्पन्न भवन निर्माण गरेको हो । गाउँपालिकाले उक्त भवनबाट २०७८ साल पुस २१ गतेबाट सेवा प्रवाह सुरु गरेको हो । भवन अभावमा विभिन्न समस्या खेप्दै आएको गाउँपालिकाले सुविधासम्पन्न भवनबाट अहिले सेवा प्रवाह गरिरहेको छ । स्थानीय तहको प्रशासनिक भवन निर्माणमा सहायता प्रदान गरिएको निर्वतमान जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले जानकारी दिनुभयो ।
पहिलो कार्यकालमै जिल्लाको मकवानपुरगढी गाउँपालिकाले पनि २४ कोठे सुविधासम्पन्न भवनबाट सेवा प्रवाह गरेको हो । नयाँ भवनबाट २०७८ सालमै सेवा प्रवाह गरेको जानकारी दिनुहुँदै गाउँपालिकाका योजना शाखा प्रमुख प्रकाश न्यौपानेले भवन निर्माणका लागि पालिकाले भने करीब डेढ करोड मात्र बजेट खर्च गरेको बताउनुभयो । तत्कालिन पर्यटन मन्त्रालय, स्थानीय महिला समुह र वनसमिति साथै भवन निर्माणका लागि महायज्ञको समेत आयोजना गरिएको उहाँले बताउनुभयो । साविक गाउँविकास सिमिति हुँदैका बखत बृद्धाआश्रम निर्माणका लागि माहायज्ञ लगाईएको र सोहिबाट सुरु भएको भवन निर्माणको काम स्थानीय महिला समुह, वनसमितिलगायतको सहयोगमा संघियतापछि पालिकाले प्रशासकिय भवनका डेढ करोड रकम खर्च गरेर निर्माण गरेको उहाँले बताउनुभयो ।
तीन पालिकाको भवन निर्माण अन्तिम चरणमा
जिल्लाका १० मध्ये अहिले जिल्लाको मनहरीसहित राक्सिराङ, ईन्द्रसरोवर र बकैया गाउँपालिकाले सुविधासम्पन्न आफ्नै प्रशासनिक भवन (सिंहदरवार) निर्माण गरिरहेका छन् । यी स्थानीय तहहरुले पनि यो कार्यकालको अन्त्यसम्ममा आफ्नै भवन निर्माण सम्पन्न गरी नयाँ भवनवाट कार्यसम्पादन गर्न सफल हुने देखिएको छ ।
आगामी आर्थिक वर्षको अन्त्यसम्म सुविधामा सम्पन्न भवन निर्माण गरी नयाँ भवनबाट कार्यसम्पादन गर्ने गरि काम अगाडी बढेको तीनवटै स्थानीय तहहरुले जनाएको छ । सबैभन्दा पछि निर्माण सुरु भएको मनहरी गाउँपालिकाको निर्माण कार्य २०८२ चैत्र ३० गते सम्पन्न गर्नेगरि काम सुरु भएको छ । भने, राक्सिराङ, ईन्द्रसरोवर र बकैया गाउँपालिकाले ७० देखि ९० प्रतिशत भौतिक प्रगति भएको र वित्तिय प्रगति पनि ७० देखि ८० प्रतिशतकै हाराहारीमा पुगेको जनाएको छ । स्थानीय तहका प्रमुखहरुले आफ्नो कार्यकालमा नै भवन निर्माण सम्पन्न हुने गरी भवन निर्माणकार्य तीब्र रूपमा अघि बढाईएको जनाएका छन् ।
जिल्लाको ईन्द्रसरोवर गाउँपालिकाले हलसहितको पाँच तलाको ४० कोठे भवन निर्माण गर्दैछ । प्रशासकीय भवन, इजलास, पर्खालसमेत गरेर १० करोड ७४ लाख रुपैयाँमा निर्माण भईरहेको भवन निर्माण गर्नका लागि संघीय सरकारले मात्र ५ करोड ४० लाख सहयोग गरेको छ । भने, बाँकी रकम गाउँपालिकाले खर्च गर्ने प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लामाले बताउनुभयो । निर्माणाधिन भवनको भौतिक प्रगति करीब ७० प्रतिशत पुगेको गाउँपालिकाका सूचना अधिकारी दीपक चापागाईले बताउनुभयो ।
त्यस्तै जिल्लाको राक्सिराङ गाउँपालिकाले ६ करोड ४२ लाख लागतमा ४ तले प्रशासकिय भवन निर्माण गरिरहेको छ । करीब ४३ कोठे भवन निर्माणका लागि संघिय सरकारको ६० प्रतिशत र पालिकाको ४० प्रतिशत लागत रहेको गाउँपालिकाकाले जनाएको छ । तत्कालिन प्रजा विकासको जग्गामा निर्माणाधिन भवनको भौतिक र वित्तिय प्रगति करीब ८० प्रतिशत पुगेको गाउँपालिकाका लेखा अधिकृत सत्येन्द्र आचार्यले जानकारी दिनुभयो । पालिकाका अध्यक्ष राजकुमार मल्लले संघियताको उपजकै रुपमा बिकट चेपाङ वस्तिमा सिंहदरवार खडा भएको बताउनुभयो । दोस्रो पटक निर्वाचित हुनु भएका अध्यक्ष मल्लले पहिलो कार्यकालमा बाटोलाई प्राथमिक्ता दिएको भन्दै यो कार्यकालमा एउटा वडा बाहेक सबैमा आफ्नै प्रशासकिय भवन र पालिकाकौ सुविधासम्पन्न भवन निर्माण अन्तिम चरणमा पुगेको बताउनुभयो ।
यस्तै निर्माणाधिन बकैया गाउँपालिकाको गाउँपालिका संचालनमा रहेकै प्रंगणमा चार तले ४० कोठे सुविधा सम्पन्न भवन निर्माणको काम अन्तिम चरणमा पुगेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठले बताउनुभयो । कुल सात करोड ८२ लाख ५० हजार ७७० रुपौयाँ बजेटमा सम्झौता गरेको हो । संघीय सरकारको अनुदानमा हुन लागेको उहाँले बताउनुभयो । प्रशासकिय भवनको काम ८० प्रतिशत र वित्तिय प्रगति ७५ प्रतिशत भएको गाउँपालिकाका प्रशासकिय अधिकृत मिलन दुलालले बताउनुभयाे ।
बागमतीको भवन निर्माण अर्को वर्ष
जिल्लाका १० स्थानीय तह मध्ये बाँकी एक मात्र बागमती गाउँपालिकाले पनि आगामी आर्थिक वर्षमा सुविधासम्पन्न भवन निर्माण गर्ने जनाएको छ । दोस्रो कार्यकाल पनि निर्वाचित गाउँपालिकाका अध्यक्षमासर्केश घलानले अघिल्लो कार्यकालमा सडक पूर्वाधारलाई प्राथमिक्ता दिएको भन्दै आगामी वर्ष भने पालिकाको सिंहदरवार निर्माण गर्ने योजना रहेको बताउनुभयो । जनताका आधारभुत आवश्यक्तालाई पहिलो कार्यकालमा प्राथमिक्ता दिएको भन्दै उहाँले अव पालिकामा सुविधासम्पन्न भवन निर्माण गर्ने योजना सुनाउनुभयो ।