हेटौँडाः हेटौंडामा जारि दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव आइतबार सकिएको छ । निर्माण व्यवसायी संघ मकवानपुरको आयोजनामा हेटौंडा–१० स्थित टीसीएन चौरमा फागुन ६ गतेबाट सुरु भएको महोत्सवमा एक लाख दर्शकले अवलोकन गरेको संघले जनाएको छ । महोत्सवमा ६ करोड रुपैयाँ बराबरको कारोबार भएको निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बालगोपाल कँडेलले बताउनुभयो । उहाँले महोत्सवबाट बचेको रकमलाई निर्माण व्यवसायी संघको नयाँ भवन निर्माणमा प्रयोग गरिने जानकारी दिनुभयो ।
महोत्सवमा निर्माण क्षेत्रमा प्रयोगमा आएका अत्याधुनिक उपकरण र निर्माण सामग्रीको प्रदर्शनीसँगै विक्रीलाई जोड दिइएको उहाँको भनाई थियो । महोत्सवको माध्यमबाट निर्माण सामग्री उद्योगी, विक्रेता र उपयोगकर्ताबीच सोझो सम्पर्क हुनुका साथै यसबाट व्यवसाय वृद्धिसँगै उत्पादित वस्तुहरुको बजार प्रवद्र्धन भएको उनले दावी गरे । महोत्सव समापन कार्यक्रममा निर्माण व्यवसायी महासंघका अध्यक्ष रवी सिंहको प्रमुख आतिथ्य रहेको थियो । प्रमुख अतिथि सिंहले निर्माण व्यवसायीहरु अहिले राज्यका कारण पीडित भएको बताउनुभयो । उहाँले निर्माण कार्यको समयमा सिमेन्ट, छड लगायतको सामग्रीमा भएको अस्वाभाविक मूल्यवृद्धि तथा काम गरेको भुक्तानी नपाउँदा व्यवसायी पीडितत भएको बताउनुभयो ।
निर्माण सामग्रीमा कृत्रिम अभाव सिर्जना गरेर मूल्यवृद्धि गरिएको आरोप लगाउँदै उहाँले यसमा राज्यले निर्माण व्यवसायीलाई सहयोग नगरेको भन्दै गुनासो गर्नुभयो । ‘निर्माण सामग्रीमा भएको अस्वभाविक मूल्यवृद्धिले निर्माण व्यवसायी मारमा छन् । सरकार काम गरेको पैसा दिँदैन । यस्तो अवस्थामा अहिले निर्माण व्यवसायीले कसरी काम गर्न सक्छन् रु’ उहाँले भन्नुभयो । आर्थिक गतिविधिलाई चलायमान बनाउन महोत्सव सफल भएको भन्नुहुँदै उहाँले निर्माण व्यवसायी संघ मकवानपुरको प्रशंसा गर्नुभयो । निर्माण व्यवसायीहरु सामाजिक उत्तरदायित्व वहन गर्न पनि सक्षम छ भन्ने कुरा महोत्सवबाट पुष्टी भएको उहाँको भनाई थियो ।