मकवानपुर । बागमती प्रदेशसभाको अधिवेशन आगामी माघ १८ गते शुक्रवारका लागि आह्वान गर्न सिफारिस गरिएको छ । प्रदेश सरकारको शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले प्रदेश सभाको १५औँ अधिवेशन माघ १८ गते आव्हान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठकले प्रदेशसभाको १५औँ अधिवेशन बैठक माघ १८ गते बिहान ११ बजेका लागि आह्वान गर्न प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष सिफारिस गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिनुभयो । यस्तै आजको मन्त्रिपरिषद् बैठकले प्रदेश भवन नीति २०८१ र अपाङ्ग भएका व्यक्तिसम्बन्धी प्रादेशिक नीति स्वीकृत गरेको छ भने प्रदेश सरकारी कामकाजी भाषा ऐन कार्यान्वयनको सन्दर्भमा अध्ययन कार्यदलले तयार गरेको प्रतिवेदन ग्रहण गर्ने तथा कार्यान्वयन गर्ने निर्णय गरेको लामिछानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त प्रतिवेदनका आधारमा प्रदेश कामकाजी भाषा ऐन कार्यान्वयनका लागि आवश्यक तयारी तथा व्यवस्थापन गर्न संस्कृति तथा पर्यटन मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको छ । बैठकले प्रदेश चलचित्र सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेस गर्ने निर्णय गरेको छ भने प्रदेश जग्गा एकीकरणसम्बन्धी विधेयक तर्जुमाका लागि सैद्धान्तिक सहमति दिने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।