मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडाबाट संघीय राजधानी काठमान्डौं जोड्ने छोटो दुरीका तीनवटा सडक आजबाट सुचारू भएका छन् । गत असोज ११ र १२ गतेको अविरल वर्षापछि बाढीपहिरोका कारण अवरुद्ध बनेको तीनवटा छोटो दुरीको सडक नौ दिनपछी सञ्चालनमा आएको हो ।

आईतबार साँझ प्रदेशको भौतीक पूर्वाधार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर नौ दिनदेखि अवरुद्ध रहेको छोटो दुरीको तीनवटा सडक सञ्चालनमा आएको प्रदेशका भौतीक पूर्वाधार मन्त्री अमन मास्केले जानकारी दिनुभयो । मन्त्री मास्केका अनुसार आजबाट हेटौंडा–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौं सडक, हेटौंडा–कुलेखानी–फाखेल–हुमानेभञ्ज्याङ–काठमाडौ र हेटौंडा–कुलेखानी–महालक्ष्मी–चखेल–मातातिर्थ–काठमाडौं सडक संचालनमा आएको हो ।

अविरल वर्षाले देशभर आएको बाढीपहिरोका कारण अधिकाँस राष्ट्रिय लोकमार्ग तथा प्रादेशिक मार्गहरु अवरुद्ध भएकोमा कुलेखानी ड्याममुनिको डाइभर्सनको काम सकिएपछि फाखेल र सिस्नेरीको दुवैतर्फको मोटरबाटो आज संचालनमा आएको उहाँले बताउनुभयो । पत्रकार सम्मेलनमा मन्त्री मास्केले प्रदेश राजधानी र संघीय राजधानी जोड्ने प्रादेशिक मार्गहरुमा बाढी पहिरोले ठूलो क्षति पु¥याएकोमा निरन्तरको प्रयासमा अस्थायी रुपमा सञ्चालनमा ल्याएको बताउनुभयो ।

दशैं सुरु भईसकेकाले सवारी साधनको आवागमनको चाँप अत्याधिक हुने भएकाले सिस्नेरी र फाखेलतर्फ आउँदा एकातर्फबाट जाँदा अर्कोतर्फबाट सवारी साधन चलाउने विषयमा छलफल भइरहेको समेत उहाँले बताउनुभयो । हेटौंडा काठमान्डौं जोड्ने मार्खु–चित्लाङ्ग–चन्द्रागिरी–काठमाडौं सडक भने बुधबारदेखि सञ्चालनमा आएको थियो ।