मकवानपुर । बागमती प्रदेशमा नेकपा एमालेले आज प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । प्रदेशमा एमालेसहितका साना दलको समर्थनमा मुख्यमन्त्री बन्नुभएका शालिकराम जम्कट्टेल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको हो ।
केन्द्रमा कांग्रेससँग सत्ता समीकरणको सहमति भएपछि एमालेले प्रदेशमा माओवादीका मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन लागेको हो । आज बिहान १० बजे एमालेका मन्त्रीले जम्कट्टेललाई दिएको समर्थन फिर्तासँगै राजीनामा दिने तयारी भईरहेको एमाले बागमती प्रदेश संसदीय दलको कार्यालयले जनाएको छ ।
एमालेबाट संसदीय दलका नेता एवम् आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया, वन तथा वातावरण मन्त्री केशवप्रसाद पोखरेल, खानेपानी उर्जा तथा सिंचाई मन्त्री एका लाल श्रेष्ठ, स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ र उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठले संयुक्त रुपमा पदबाट राजिनामा दिने तयारी गर्नुभएको छ । राजिनामा पछि एमालेले नयाँ गठबन्धन अनुसार कांग्रेससँगको गठबन्धनमा सरकार गठनको तयारी गर्ने जनाइएको छ ।
यता बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सभामा विश्वासको मत लिने हुनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय संसदबाट विश्वासको मत लिने रणनीति बनाएसँगै मुख्यमन्त्री जम्कट्टेलले पनि विश्वासको मत लिने तयारी गर्नुभएको हो ।
आइतबार काठमाडौंमा बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले विश्वासको मत फेस गरेर अघि बढ्ने सुझाव दिएपछि मुख्यमन्त्री जम्कट्टेल सोही अनुसार तयार हुनुभएको हो । संसदीय दलका मुख्य सचेतक रत्न प्रसाद ढकालका अनुसार संसदीय दलको बैठकमा सबैले विश्वासको मत फेस गर्न सुझाव दिएको र केन्द्रबाट पनि सोही अनुसार निर्देशन प्राप्त भएकाले मुख्यमन्त्री जम्कट्टेल तयार हुनु भएको हो । विश्वासको मत लिने मिति भने पछि तय गरिने उहाँले बताउनुभयो । बैठकमा एमालेका मन्त्रीहरुको राजिनामा पछि संसद बैठकका रणनीति र भूमिकाका बारेमा छलफल भएको उहाँले बताउनुभयो ।