हेटौंडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक आइतबार बस्यो । केन्द्रको सत्ता समीकरणबाट बाहिरिसकेको नेकपा एमालेले बागमतीमा हालसम्म समर्थन फिर्ता लिएको छैन । तर नेकपा माओवादी केन्द्रका शालिकराम जम्कट्टेलले नेतृत्व गरिरहेको मन्त्रिपरिषद् बैठकमा आइतबार एमालेका पाँच जना मन्त्री नै अनुपस्थित रहे ।

बैठकमा मुख्यमन्त्रीसहित माओवादी केन्द्रका चार जना मन्त्री गंगानारायण श्रेष्ठ, युवराज दुलाल र कुमारी मोक्तान, नेकपा एकीकृत समाजवादीका ३ जना मन्त्री डा. राजेन्द्रमान श्रेष्ठ, लक्ष्मण लम्साल र रमा आले मगर उपस्थित छन् । मन्त्रिपरिषद् बैठकमा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य पनि उपस्थित छैनन् ।

एमाले संसदीय दलका नेता एवं आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाका अनुसार मुख्यमन्त्री जम्कट्टेललाई भेटेर भोलि राजीनामा बुझाउने तयारी भएको छ । शुक्रबार नै सरकारलाई दिएको समर्थन फिर्ता र मन्त्रीहरूले राजीनामा बुझाउने तयारी गरे पनि जम्कट्टेल काठमाडौंमा रहेका कारण सम्भव नभएको एमाले बागमती प्रदेशका मुख्य सचेतक मधुसुदन पौडेलले जानकारी दिए ।