मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट निर्माणको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । जेठ मसान्तमा प्रदेश सरकारको बजेट पेस हुने संवैधानिक व्यवस्था अनुरूप प्रदेश सरकारले बजेट निर्माणको प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको हो ।
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि करिब ५५ अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ । चालु आवका लागि ६२ अर्ब ७० करोड ९० लाख बराबरको बजेट ल्याएको प्रदेश सरकारको बजेट आगामी वर्ष करिब ७ देखि ८ अर्ब घट्ने भएको आर्थिक मामिला मन्त्रालयले जनाएको छ ।
प्रदेश सरकारले चालु आवका लागि चालुतर्फ २६ अर्ब ७० करोड २७ लाख ६९ हजार रुपैयाँ, पुँजीगततर्फ ३५ अर्ब ५० करोड ६३ लाख ९ हजार रुपैयाँ र वित्तीय व्यवस्थातर्फ ५० करोड विनियोजन गरेको थियो । प्रदेश सरकारको आन्तरिक आय र सङ्घीय सरकारबाट प्राप्त हुने अनुदान बापतको रकम समेत कटौती भएसँगै बजेटको आकार पनि घट्ने निश्चित भएको हो ।
कर, दस्तुर र सङ्घीय सरकारले दिने अनुदानसमेत कटौती भएकाले आगामी आर्थिक वर्षको बजेट पनि घट्ने निश्चित भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । बजेट घट्ने भएपछि आर्थिक मामिला मन्त्रालयले सबै मन्त्रालयलाई बजेटको सिलिङ पठाउँदै करिब ११ प्रतिशत बजेट सिलिङ घटाएर पठाएको जनाएको छ ।
राजस्व सङ्कलन निराशाजनक रहेकाले प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट सिलिङ ११ प्रतिशतले कटौती गरेको हो । बजेटको सिलिङ घटाउँदा प्रदेश सरकार मातहतका निकायहरूबाट कार्यान्वयन भइरहेका आयोजना तथा बहुवर्षीय योजनामा समेत प्रभाव पर्ने देखिन्छ ।
आगामी वर्षको बजेट नागरिकमैत्री
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि परम्परागत शैलीलाई तोडेर नागरिकमैत्री बजेट ल्याउने जनाएको छ । सोही अनुसार मन्त्रालयले आम नागरिकको आवश्यकतालाई पूर्ति गर्न सुझाव सङ्कलन गरेर ठुला र बृहत् प्रकृतिका योजनासँगै जनताका जीवनस्तरसँग जोड्ने कार्यक्रम आगामी वर्षको बजेटमा समावेश हुने जनाएको छ । सरकारले उत्पादन र उत्पादकत्व वृद्धि, आर्थिक उपार्जन, उद्यमशीलता विकास, रोजगारी र सिपजस्ता क्षेत्रलाई बजेटको प्राथमिकतामा राखेको जनाइएको छ ।
आर्थिक मामिला तथा योजना मन्त्री थपलियाले बजेट सन्तुलित र समानुपातिक ढङ्गमा विनियोजन गर्ने बताउनुभयो । बजेट खर्चलाई बढी न्यायोचित र दीर्घकालीन प्रभाव पार्ने गरी अगाडि बढ्ने मन्त्री थपलियाको भनाइ छ । नागरिक स्तरबाट प्राप्त सुझावलाई प्राथमिकता दिँदै आगामी आर्थिक वर्षको बजेट तयार हुने उहाँले बताउनुभयो ।
नीति तथा कार्यक्रम जेठ १४ गते
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम यही जेठ १४ गते प्रस्तुत गर्ने भएको छ । प्रदेशसभामा प्रदेश प्रमुख यादवचन्द्र शर्माले जेठ १४ गते सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्नु हुने छ ।
प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता माथि जारी छलफलका क्रममा दलहरुबीच सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्न सहमति रहेको सभामुख भुवनकुमार पाठकले जानकारी दिनुभयो ।
बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्न दलहरूको सहमति रहेको उहाँले बताउनुभयो । आजको प्रदेशसभा बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को विनियोजित बजेटको सिद्धान्त र प्राथमिकता माथि छलफल भएको छ । छलफल भोलीसम्म चल्ने छ ।