मकवानपुर । नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको स्मृतिमा हेटौंडामा भोली खुल्ला दौड प्रतियोगिता हुने भएको छ । मदन भण्डारी फाउन्डेसन मकवानपुरले स्व. भण्डारी र आश्रितको ३१औँ स्मृति दिवसको अवसरमा जेठ १ गते दौड प्रतियोगिता आयोजना गर्ने भएको हो ।
फाउण्डेसनले हरेक वर्ष झै यो वर्ष पनि विभिन्न कार्यक्रम गरेर तीन दिवसीय मदन आश्रित स्मृति मनाउने क्रमममा भोली पहिलो दिन ५ किलाे मिटर पुरुष खुल्ला दौड प्रतियोगिता गर्न लागेको फाउन्डेसन मकवानपुरका अध्यक्ष रघुनाथ खुलालले बताउनुभयो । प्रतियोगिता भोली बिहान ७ः३० बजे हेटौंडाको बुद्धचोकबाट सुरु हुने साथै प्रतियोगितामा विजेता खेलाडीलाई नगद पुरस्कारको समेत व्यवस्था रहेको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै स्मृति दिवशकै सन्दर्भमा फाउन्डेसनले पर्सी जेठ २ गते हेटौंडा नगरपालिका स्तरिय अन्तर मावि हाजिरिजवाफ प्रतियोगिता गर्ने र जेठ ३ गते श्रद्धञ्जली सभाको कार्यक्रम रहेको अध्यक्ष खुलालले जानकारी दिनुभयो । तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुंगामा जीप दुर्घटनामा परी मृत्यु भएको थियो । मदन आश्रितको स्मृतिमा जेठ ३ गते विभिन्न कार्यक्रम गरी स्मृति दिवस मनाउने गरिन्छ ।