काठमाडौं– प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको उद्घाटन मन्तव्यपछि र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम तय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि सञ्चारकर्मीहरुलाई जानकारी दिनुभयो ।

त्यसैगरी बैठकमा महासचिव विष्णुप्रसाद पौडेलले विधान संशोधन तथा सांगठनिक प्रतिवेदन पेश गर्ने र सातै प्रदेशका संयोजकहरुले प्रदेश कमिटिको प्रतिवेदन पेश गर्ने कार्यक्रम पनि तय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दोस्रो केन्द्रीय कमिटी बैठक भोलीदेखि सुरु हुँदैछ । पार्टी एकता भएको डेढ वर्षपछि दोस्रो बैठक हुन लागेको र बैठककको तयारी पूरा भएको नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो ।

नेकपाको गत मङ्सिर २९ देखि पुस ६ गतेसम्म बसेको स्थायी कमिटी बैठकले एकीकरणको काम पूरा गराएसँगै केन्द्रीय कमिटीको बैठक राख्ने निर्णय गरेको थियो । केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहुने कार्यतालिका रहेको छ । बैठक भोलिदेखि यही माघ २० गतेसम्म चल्ने छ । यसअघि पुस २३ मा बस्ने भनिएको बैठक राष्ट्रियसभाको निर्वाचन कारण सारिएको थियो । नेकपामा दुई पार्टी एकीकरण भएपछि ४४१ सदस्यीय केन्द्रीय कमिटी रहेको छ ।