मकवानपुर । मनकवानपुरमा न्याय मार्चमा हिँडेका मिटरब्याज पीडित र स्थानीयबीच झडप भएको छ । मकवानपुरको मनहरी गाउँपालिकामा भएको झडपमा २१ जना घाइते भएका छन् ।
मिटरब्याजको समस्या समाधान नभएको भन्दै मिटरब्याज पीडितहरु गत १६ गतेबाट पूर्वको काकडभिट्टा र पश्चिमको कञ्चनपुरबाट न्याय मार्चमा निस्किएका हुन् । यसै क्रममा काकडभिट्टाबाट पैदल हिँडेर आएको मिटरब्याज पीडितको समूह मकवानपुरको मनहरी पुलमा आइपुग्दा स्थानीय एक समूहसँग विवाद भएको थियो ।
मिटरब्याज तथा ठगीविरुद्ध किसान संघर्ष समितिका संयोजक अवधेश कुशवाहका अनुसार गाडी राखेर बाटो अवरोध गरेपछि विवाद सुरु भएको हो । त्यसक्रममा झडप भएको उहाँले बताउनुभयो ।
घटनाको बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी विष्णु केसीले पनि पुष्टि गर्नुभयो । झडपमा घाइते हुनेहरुमा धेरैजसो मिटरब्याज पीडित छन् भने केही स्थानीय समेत रहेका छन् । झडपमा घाइते भएकाहरुलाई उपचारका लागि भरतपुर पठाइएको उहाँले बताउनुभयो ।