मकवानपुर– हेटौंडामा गत माघ १० गते देखि सप्ताहव्यापी रुपमा मनाईएको सहिद सप्ताहको आज अन्तिम दिन माघ १६ गते विभिद कार्यक्रम आयोजना गरेर समापन गरिएको छ । माघ १६ गते सहिद दिवशमा विविध कार्यक्रमको आयोजना गरेर सप्ताहब्यापी कार्यक्रमको समापन गरिएको हो ।


दिवशका अवसरमा आज मुख्य दिन सहिदहरु प्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो । सहिद प्रति सलामी, श्रीचन्द्र शर्मा स्मृति सम्मान पुरस्कार वितरणकार्यक्रम आयोजना गरिएको थियो । श्रद्धाञ्जली अर्पणकार्यक्रममा बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा, सभामुख भुवनकुमार पाठक, प्रदेश सरकारका मन्त्रीहरुको, विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख एवम् प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

यसैबिच सहिद सप्ताह अन्तरगत आयोजित विभिन्न कार्यक्रमका बिजेताहरुलाई पनि पुरस्कार हस्तान्तरण गरिएको थियो । स्मारक विकास समितिले सप्ताह व्यापी कार्यक्रम अन्तरगत पहिलो दिन बुद्धपार्क उद्धाटन, सताव्यापी बृहत हस्तकला स्थानीय उत्पादन तथा पर्यटकीय वस्तुहरुको प्रबद्र्धन मेला, विभिन्न जातजातिको सास्कृतिक नृत्य तथा गित प्रस्तुती साथै नौमति बाजा र दोहोरी गीतको प्रस्तुति, रक्तदान कार्यक्रम र “सहिद र मदन भण्डारीको सपना साकार पार्नका लागि नवयुवाको भुमिका” विषयक वक्तृत्वकला प्रतियोगिता र “बालश्रम, बालशोषण, बालहिंसा अन्त्य गर्नुमा बालबालिकाको भुमिका” विषयक वडा स्तरिय वक्तृत्वकला प्रतियोगिता, साँस्कृतिक कार्यक्रमलगायतका कार्यक्रम गरेको स्मारक विकास समितिका सचिव रघुनाथ खुलालले जानकारी दिनुभयो ।
राणा शासन विरुद्धको आन्दोलनमा वि.सं १९९७ साल माघ १० गते शुक्रराज शास्त्रीलाई टेकुमा रहेको पचलीमा, धर्मभक्त माथेमालाई सिफलमा र गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा तत्कालीन राणा शासकले मृत्युदण्ड दिएको थियो । शहीदको योगदानको कदर स्वरूप हरेक वर्ष माघ १० देखि १६ गते सम्म सप्ताहव्यापी रुपमा सहिद दिवस मनाउने गरिन्छ ।